काठ माडौं, जेठ २० –पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिड–१९ विरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्ताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।
बिहीवार आफ्नो र पत्नी कोमलको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै पूर्वराजा ज्ञानेन्द्रले कोभिड–१९ विरुद्धको लडाइँमा खटिनेलाई धन्यवाद व्यक्त गर्नुभएको हो । उहाँले आफू दुई स्वास्थ्यबारे चिन्ता, चासो लिने र शुभकामना दिने सबैलाई आभार पनि व्यक्त गर्नुभएको छ । अहिले आफू दुवै पूर्ण स्वास्थ्य लाभको क्रममा रहेको जानकारी दिनुभएको छ ।भारतकाे कुम्भमेलामा गएर आएपछि पूर्वराजा दम्पतीलाई काेराेना सङ्क्रमण भएकाे थियाे । अहिले दुवै जना डिस्चार्ज भइसक्नुभएकाे छ ।
तर उहाँले देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति आफूहरु चिन्तित रहेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा उहाँले भन्नुभएको छ, ‘महामारीको प्रक्रिया चलिरहेको छ । यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै सङ्कल्प र बाहिरी सहयोगको आवश्यक पर्दछ । प्राप्त अन्तर्राष्ट्रिय सहयोगका लागि पनि धन्यवाद दिन चाहन्छौँ ।’
यस्तै पूर्वराजा शाहले सबैलाई सुरक्षित, सावधान र स्वस्थ रहन आग्रह गर्नुभएको छ । उहाँले उपचारका क्रममा रहेको सबै नेपालीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कोभिडका कारण ज्यान गुमाएका आत्माको चीर शान्तिको कामना पनि गर्नुभएको छ ।
FACEBOOK COMMENTS