काठमाडौं , साउन १५। नेपाल उद्योग वाणिज्य महासंघमा साधारणसभाको मिति अन्योलपछीसाउन २१ गते कार्यसमितिको बैठक डाकेको छ ।
कार्यसमिति बैठकको मुख्य एजेण्डामा चुनावको मिति र मोडालिटी रहेको छ । कोभिड(१९ संक्रमणका कारण पटक पटक साधारणसभा स्थगित हुँदै आएको महासंघमा पछिल्लो पटक पदाधिकारी र पूर्व अध्यक्षको बैठकले सभा सम्मेलन खुला भएको १५ दिनभित्र साधारणसभा गर्ने निर्णय गरेको थियो ।
यो निर्णयको एशोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल समूहले विरोध जनाएको थियो । कार्यसमितिबाट गर्नुपर्ने निर्णय आफ्नो अनुकूल चुनावी नतिजा नआउने देखेपछि एकाएक साधारणसभा स्थगित गरिएको ढकाल पक्षको आरोप छ ।
यो आरोपसँगै ढकाल समूहले २२ जनाको हस्ताक्षरसहित कार्यसमिति बैठक डाक्न दबाब दिएका थिए । कार्यसमिति बैठक राख्नका लागि २५ प्रतिशतले निवेदन दिनुपर्ने महासंघको विधानमा प्रावधान छ । त्यही प्रावधान अनुसार ढकाल समूहले निवेदन दिएका थिए ।
प्रधान समूहको पनि निवेदन
किशोरकुमार प्रधान समूहले सोमबार साधारणसभा र निर्वाचनको लागि कार्यसमिति बैठक बोलाउन महासंघमा निवेदन दिएको छ ।
३६ जनाको हस्ताक्षरसहित दिएको निवेदनमा साउन ८ गते बसेको महासंघको पूर्व अध्यक्ष र पदाधिकारी भेलाले चुनाव स्थगित गर्ने निर्णयको भने स्वागत गरेको छ ।
‘महासंघका पूर्व अध्यक्षहरु सहितको सहभागितामा ३५ औं पदाधिकारी समितिको बैठकले साधारणसभा र निर्वाचन स्थगन गरी नेपाल सरकार मन्त्रिपरिषदबाट सभा सम्मेलन गर्न दिने निर्णय भएको १५ दिनभित्र साधारणसभा र निर्वाचन कार्यलाई अघि बढाउने निर्णय भएकोमा हामी निवेदकहरु उक्त निर्णयलाई स्वागत गर्दछौं,’ निवेदनमा भनिएको छ, ‘निकट भविष्यमा हुने साधारणसभा र निर्वाचन प्रक्रिया लगायतका विषयमा छलफल गर्न कार्यकारिणी समिति बैठक बोलाइ पाउन संयुक्त निवेदन गरेका छौं।’
FACEBOOK COMMENTS