काठमाडौं, जेठ २५ – महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले धादिङको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा समाहित हुने प्रस्ताव साधारणसभाबाट पारित गराएको छ । भर्चुअल माध्यमबाट मंगलबार आयोजित विशेष साधारणले उक्त प्रस्ताव पारित गरेको हो ।
विशेष साधारणसभाले दुई संस्थाबीच प्राप्ती/समाहित प्रयोजनका लागि मुल्याङ्कनकर्ताबाट प्राप्त चल–अचल सम्पत्ति दायित्वको मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात महिला सहयात्राको १०० कित्ता शेयरबापत नेशनल माइक्रोफाइनान्स लघुवित्तको ६८ कित्ता कायम गरिएको छ । दुई संस्थाबीच गाभ्ने/गाभिनेसम्बन्धी अन्तिम सम्झौता भएसँगै आज साधारणसभाले उक्त प्रस्ताव पारित गरेको बताइएको छ ।
प्राप्ती (एक्विजीसन) पछि नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था पूँजी, व्यवसाय, शाखा सञ्जाल समेतका हिसाबले ठूलो तथा मजबुत लघुवित्त वित्तीय संस्था बन्ने छ । मर्जपछि संस्थाको चुक्ता पूँजी करिब ४१ करोड रूपैयाँ र कुल निक्षेप २ अर्ब ५० करोड रूपैयाँ भन्दा बढी हुने बताइएको छ । यस्तै कुल कर्जा लगानी १० अर्ब भन्दा बढी पुग्ने छ ।
त्यस्तै १०० वटा शाखा कार्यालय र ५५० जना भन्दा बढी कर्मचारीमार्फत करिब १ लाख४० हजार ग्राहकहरूलाई सेवा प्रदान गर्ने एक सवल राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हुने बताइएको छ ।
हाल राष्ट्रिय स्तरको कार्यक्षेत्र र १४ करोेड ६४ लाख १० हजार रूपैयाँ चुक्ता पूँजी रहेको महिला सहयात्राको विशेष साधारणसभामा संस्थाका अध्यक्ष अमृतचरण श्रेष्ठले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
FACEBOOK COMMENTS