काठमाडौं, पुष ३ – सरकारले अब माउन्टेन गाइडलाई समेत आधिकारिक लाइसेन्स वितरण गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले अब लाइसेन्स नलिएका व्यक्तिले हिमाल आरोहणको काम गर्न नपाउने गरी कानूनि संरचना बनाएको हो ।
यससँगै लाइसेन्स वितरणको तयारी गरिएको विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन् । ‘कानूनी संरचना तयार भयो’,उनले भनिन्, ‘अब हामी लाइसेन्स वितरण थाल्छौं ।’
नेपालमा पर्वतारोहणमा जाने सबै टोलीले न्यूनतम एक जना माउन्टेन गाइड लैजानैपर्ने प्रावधान रहेको छ । यसअघि सरकारले नेपाल पर्वतारोहण संघबाट सिफारिस भई आएका माउन्टेन गाइडलाई आरोहणमा मान्यता दिने गरेको थियो । अब भने सरकारी लाइसेन्स होल्डरले मात्र यो अवसर पाउने भएका हुन् ।
नेपालमा करिब २ हजारको संख्यामा माउन्टेन गाइड रहेको अनुमान छ । विगतमा पूख्र्यौली पेशाका रुपमा रहेको माउन्टेन गाइड अब भने व्यवसायिक बनेको छ ।
यो प्रावधानपछि अब नेपालमा माउन्टेन गाइडको यकिन संख्या पनि पत्ता लाग्ने छ । नेपालमा अफ सिजन भएका बेला धेरैजसो माउन्टेन गाइडले विदेशमा काम पाउँछन् । त्यसबेला समेत सरकारी लाइसेन्स होल्डरलाई सहज हुने सरकारको विश्वास छ ।
FACEBOOK COMMENTS