काठमाडौं, पुस २९- श्री एयरलाइन्सले माघ १ गतेदेखि जनकपुरमा नियमित उडान शुरु गर्ने भएको छ।
नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएपछि श्रीले नियमित उडान गर्ने भएको एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिए ।
श्रीले केही महिनाअघि भित्र्याएको नयाँ टर्बोप्रोप क्यु–४०० जहाजमार्फत जनकपुर उडान गर्न लागेको मानन्धरले जानकारी दिए। त्यसका लागि एयरलाइन्सले ३४ सय रुपैयाँदेखि ४३ सय रुपैयाँसम्म भाडादर तोकेको छ । ८० सिट क्षमताको क्यू ४०० विमानबाट उडान गर्ने एयरलाइन्सको भनाइ छ ।
उक्त गन्तव्य उडान भर्नका लागि श्रीएयरलाइन्सले गत मंसिर १५ गते जनकपुर र सिमरामा परीक्षण उडान गरेको थियो। श्रीले अहिले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा उडान भर्दै आएको छ। कम्पनीले निकट समयभित्रै सिमरा र पोखरामा पनि उडान भर्ने तयारी गरेको छ।
FACEBOOK COMMENTS