माघ १६ मा चौथो व्यास नगर अल्ट्रा म्याराथन गरिदै बिष्णु गौतम तनहुँ, ५ माघ – तनहुँको व्यास नगरपालिकाले यही माघ १६ गते सहिद दिवसको अवसरमा चौथो व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगिता २०७७ गर्ने भएको छ । व्यास नगरपालिकाले सोमबार दमौलीमा पत्रकार सम्मेलन गरि म्याराथन बारे जानकारी दिएको हो । पत्रकार सम्मेलन माझबाट अल्ट्रा म्याराथनमा भाग लिन इच्छुक धावकहरुले अनिवार्य रुपमा फाराम भर्नुपर्ने जानकारी दिईएको छ ।
माघ १४ गते बेलुका ४ बजेसम्म फाराम भर्न सकिने र माघ १५ गते सहभागी हुने धावकहरुलाई दिउसो २ बजे सभाकक्षमा अभिमुखीकरण गराइने व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पत्रकार सम्मेलनमा बताए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने धावकहरुलाई क्रमशः ८५ हजार ७७, ६५ हजार ७७, ५५ हजार ७७ रुपैयाँका साथै सान्त्वना हुने ५ जनालाई जनही १६ हजार ७७ रुपैयाँ र मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिने जानकारी पनि उनले दिए ।
प्रतियोगिता सम्पन्न गर्नका लागि १५ लाख रुपैयाँ खर्च लाग्ने जानकारी उपप्रमुख मिरा जोशीले दिइन । व्यास नगरपालिका ५ को पर्यटकीय स्थल मानुङकोटदेखि व्यास ८ को पुलिम¥याङ सहिद पार्कको ४४ किलोमिटरको दुरीमा चौथो व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगिताको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जनाए ।
सो अवसरमा बोल्दै नगर शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीले प्रतियोगिताका लागि ८ वटा चेक पोइन्ट राखिएको बताए । उक्त प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न जनप्रतिनिधि, आमा समूह, युवा क्लब, टोल विकास संस्था, शिक्षक, विद्यार्थी, किसान, उद्योगी, व्यापारी, सबैलाई आग्रह गरिएको जानकारी उनले दिए ।
प्रतियोगिता सम्पन्न गर्न मुल समारोह समिति र विविध ९ वटा उपसमिति गठन गरिएको पनि जानकारी गराईएको छ । सोही अवसरमा अन्तर्राष्ट्रिय नारी दिवसका दिन व्यास पराशर क्षेत्रबाट ऐतिहासिक तनहुँसुर दरबारसम्मको महिला दौडको आयोजना गरिने जानकारी नगरप्रमुख न्यौपानेले दिएका छन् ।
FACEBOOK COMMENTS