काठमाडौ, कात्तिक १३ – माछापुच्छ्रे क्यापिटलको प्रथम वार्षिक साधारण सभा मंसिर ४ गते हुने भएको छ । कम्पनीले सभा अपरान्ह ३ बजे कम्पनीको रजिष्टर्ड कार्यालय लाजिम्पाट, काठमाडौंमा हुने बताएको छ ।
कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले ६ दशमलव ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले कृति क्यापिटल र माछापुच्छ्रे क्यापिटल एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन छलफल गरी पारित गर्ने रहेको छ ।
ती दुई कम्पनी एक आपसमा गाभिएपश्चात कम्पनीको बर्तमान अधिकृत पूँजी रू. ३० करोडबाट वृद्धि गरी रू. ४० करोड, जारी पूँजी रू. २० करोडबाट वृद्धि गरी रू. ३१ करोड ४८ लाख ३२ हजार र चुक्तापूँजी रू. २० करोडबाट वृद्धि गरेर रू. २६ करोड ७६ लाख ७ हजार पुर्याउने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीको शेयर स्वामित्व सम्बन्धी व्यवस्था गरी संस्थापकतर्फ ८५ प्रतिशत र सर्वसाधारणतर्फ १५ प्रतिशत रहने व्यवस्था कायम गर्ने र कम्पनीको नाम परिवर्तन गर्ने रहेको छ । ती दुवै कम्पनी एक आपसमा गाभिएपछि बन्ने कम्पनीको नाम माछापुच्छ्रे कृति क्यापिटल हुने पनि कम्पनीले बताएको छ ।
FACEBOOK COMMENTS