काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सुरु भएको करिब १ दशकपछि प्रशारणलाइनमा जोडिने भएको छ ।
उक्त राष्ट्रिय गौरवको आयोजनाको आज (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् ।
आज आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रशारणलाइनमा जोडिनेछ । आयोजनाका अनुसार यही असारभित्रै अर्को ७६ मेगावाट विद्युत् पनि उत्पादन हुनेछ ।
आयोजना आर्थिक वर्ष २०६७÷६८ बाट शुरु गरेर २०७१ चैतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर भूकम्प, भारतले गरेको नाकाबान्दी, कोरोना महामारी लगायतलाई बाहना बनाएर पूर्व निर्धारित समय भन्दा करिब साढे ६ वर्षपछि आयोजना तयार भएको छ ।
६ वटा युनिट रहेको यो आयोजनामा क्रमैसँग सबै युनिट सञ्चालन गर्ने र यो वर्षभित्र पूर्णक्षमतामा सञ्चालनमा ल्याइने योजना रहेको छ । त्यसको सुरुवात आजबाट हुनेछ ।
३५ अर्ब बराबर लागत अनुमान गरिएपनि ७६ अर्ब रुपैयाँ हाराहारी पुगेको छ । आयोजना निर्माणमा ढिलाइ हुँदा ब्याज पुँजीकरण मात्रै २४ अर्ब पुगेको बताइएको छ ।
आयोजनालाई राष्ट्रिय प्रशारणमा जोड्ने २२० केभी गोंगर–खिम्ती प्रशारणलाइनको निर्माण सकिएको छ । प्रशारणलाइनको परीक्षण पनि सफल भएको छ । यो पूर्ण स्वदेशी लगानीमा बनेको पहिलो राष्ट्रिय गौरवको जलविद्युत आयोजना हो ।
FACEBOOK COMMENTS