काठमाडौं, २६ मंसिर – जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाका अधिकांश क्रसर तथा बालुवा प्रशोधन उद्योग मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको जानकारी दिएको छ।प्रशासन कार्यालयका अनुसार उद्योगहरु कुनै न कुनै रुपमा मापदण्ड तथा उद्देश्य विपरीत सञ्चालनमा छन् ।
यसअघि प्रशासनले केन्द्र सरकारको निर्देशनपछि बालुवा प्रशोधन तथा क्रसर उद्योगको अनुगमन गरेको थियो । अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालनमा आएको पाइएपछि प्रशासनले बिहीबार सम्बन्धित व्यवसायीसँग छलफल गरेको छ ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अगुवाइमा व्यवसायीसँग छलफल भएको थियो । छलफलमा व्यवसायीहरुले तत्काल क्रसर तथा बालुवा प्रशोधन केन्द्रहरु मापदण्ड पूरी गरी सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले व्यवसायीले मापदण्ड अनुरुप उद्योगहरु सञ्चालन गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए । आगामी दिनमा मापदण्ड अनुरुप सञ्चालन नभएको पाइएमा कारवाही हुने उनको भनाइ छ ।
छलफलका क्रममा भौगोलिक विशिष्टता अनुरुप (दूरी कायम गर्न) मापदण्ड संशोधन गर्नका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने समेत निर्णय भएको छ । यस्तै नदीजन्य श्रोत भन्दा खानीमा आधारित उद्योग संचालनमा प्रोत्साहन दिनको लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय पनि भएको छ ।
नदीजन्य श्रोतहरु स्थानीय तहबाट संकलन गराई घाटगद्दी स्टक प्रमाणित गराउने र उद्योगहरुलाई बिक्री वितरण गर्ने व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तहलाई अनुरोध गर्ने निर्णय पनि भएको छ ।
FACEBOOK COMMENTS