काठमाडौं, पुस २ – संगठित रुपमा किर्ते तथा ठगी गरेको मुद्दामा भूमिसुधार तथा मालपोत कार्यालय पर्साका प्रमुखसहित पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
वीरगन्ज महानगरपालिका–५ मुख्य सडकसँग जोडिएको मकालु होटलको पूर्वपट्टिको स्व.कमल देवी भण्डारीको ५ कठ्ठा, १५ धुर, ९ कन्वामा बनेको घरसहितको जग्गा किर्ते गरी नामसारी गरेको मुद्दामा मालपोत कार्यालयका प्रमुख सुमन झा, मालपोतका कम्प्युटर अपरेटर श्रीनारायण प्रसाद, लेखनदास प्रमेश प्रसाद, केवल प्रताप जबरा र जग्गा कारोबारी विश्वास तिवारीलाई बुधबार पर्सा जिल्ला अदालतका न्यायाधीश हरिकृष्ण श्रेष्ठको इजलासले पुर्पक्षका लागि कारागार चलान गरेको अदालतका श्रेस्तेदार कृष्णप्रसाद अधिकारीले बताए । अर्का लेखनदास अमर साह कानुलाई एक लाख रुपैयाँ धरौटी लिएर तारिखमा राखिएको छ ।
स्व.कमला देवी भण्डारीको नाममा दर्ता रहेको वीरगन्ज–५ को कित्ता नं. ३, ७१ र १४३ को ५ कठ्ठा १५ धुर ९ कन्वा जग्गा केवल प्रतापले कमला देवीको जेठो छोरी बनी मुकेशराज भण्डारीको नामको किर्ते नागरिकता बनाई २०७६ फागुन १९ मा मालपोत कार्यालय पर्साबाट आफ्नो नाममा नामसारी गराएका थिए । वीरगन्ज–४ निवासी गिरधारीलाल अग्रवाललाई बिक्री गर्नका लागि केवल प्रताप र उनको समूहले ५० लाख रुपैयाँ बैनासमेत लिएका थिए । उक्त जग्गा धितो राखेर बैंकबाट कर्जा लिने प्रयास गर्दा जग्गाधनी कमला देवीका कान्छो छोरा राजीव राजभण्डारीले थाह पाएपछि किर्ते प्रकरण उजागर भएको थियो ।
संगठित रुपमै जग्गा किर्ते गरि नामसारी गरिएको उजुरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले गत असोज २५ मा केवल प्रतापलाई काठमाडौंको रातोपुलबाट पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाएको थियो । प्रहरीले अनुसन्धानको क्रममा ५० लाख रुपैयाँ बैना गर्ने गिरधारीलाल अग्रवाल, मालपोत प्रमुख झा, कम्प्युटर अपरेटर श्रीनारायण प्रसाद, जग्गा कारोबारी तिवारी, लेखनदास प्रमेशलाई नियन्त्रणमा लिएको थियो । सरकारी वकिल कार्यालयले अग्रवालमाथि मुद्दा नचल्ने जनाएपछि उनी रिहा भइसकेका छन् ।
प्रतिवादीहरुले समूहगत फाइदा गर्ने उद्देश्यले ३ जनाभन्दा बढी समूहमा आवद्ध भई बृहत् तयारी एवं योजनाका साथ संगठित रुपमा किर्ते तथा ठगीको कसुर गरेको भन्दै किर्ते, ठगी र संगठित अपराध ऐनअन्तर्गत सजायको माग/दाबीसहित अभियोग दर्ता भएको थियो ।
