काठमाडौँ, फाल्गुन २९ – दुवै मिर्गौला फेल भएकी नुवाकोटको तादी गाउँपालिका-३ प्रभुडाँडाकी ४७ वर्षीया साइँली तामाङको उपचारका लागि ७ लाख ७४ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।
शनिबार सामाखुसीमा आयोजित एक कार्यक्रमबीच नुवाकोट क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री हितबहादुर तामाङ, वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङबाट संयुक्त रुपमा उक्त सहयोग रकम पीडित तामाङलाई हस्तान्तरण गरिएको हो । तामाङको कमजोर आर्थिक अवस्था देखेर स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले सामाजिक सञ्जालमामार्फत सहयोग आह्वान गरेका थिए ।
स्थानीय होमबहादुर तामाङको संयोजकत्वमा साइँलीको उपचारका लागि ७ सदस्यीय मिर्गौलापीडित साइँली तामाङ बचाऔं अभियान समिति बनाएर रकम संकलन गरिएको थियो ।
सहयोग समितिले पहिलो चरणमा संकलन भएको ७ लाख ३४ हजार ८ सय ५ रुपैयाँ संघीय सांसद तामाङले हस्तान्तरण गरेका थिए । त्यस्तै, दोस्रो चरणमा शनिबार नै कार्यक्रमका क्रममा संकलित र केही बेलायतबाट आएको गरी ३९ हजार ८ सय १० रुपैयाँ वाग्मती प्रदेशकी उपसभामुख तामाङमार्फत् हस्तान्तरण गरिएको थियो ।
सो कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका विनिता गुरुङले मर्मस्पर्शी प्रस्तुति राखेकी थिइन् । विगत ३ वर्षदेखि काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत साइँली हाल वीर अस्पतालमा हप्तामा दुई पटक डाइलाइसिस गर्दै आइरहेकी छन् ।
FACEBOOK COMMENTS