डा अरुण मास्के मूलतः मुटुरोग विशेषज्ञ हुन् । तर, यति मात्रै भनिदिँदा उनीमाथि अन्याय हुन्छ । किनभने उनी नेपालमै मुटुरोगको उपचार सेवा उपलब्ध गराउन लागिपरेका एक अभियान्ता पनि हुन् । उनले जीवनमा चिकित्सालाई पेशा भन्दा बढी अभियानका रुपमा लिए । सकेसम्म मुटुरोगका बिरामीले उपचारका लागि विदेशिन नपरोस् भन्ने मनशाय बोकेर संघर्ष गरे ।
अहिले नेपालमा मुटुरोग सम्बन्धि सवै उपचार सेवा उपलब्ध छन् । काठमाडौं मात्रै होइन, बाहिर पनि उपचार सेवा विस्तार भएको छ । केही ठाउँमा अझै हुँदैछ । मुटुरोगको उपचारमा आजको दिन आउनुमा सेवाभाव भएका धेरै डाक्टरको लगानी र योगदान छन् । डा मास्के पनि तिनै चिकित्सक मध्येमा पर्छन् । उनले जीवनभर बिरामी र सकेसम्म बढी उपचार सेवा कसरी दिने विषयमा मात्रै सोचे । यसैमा लागि परे ।
यसैको कारण हो, डा मास्केलाई खोज्दै काठमाडौं बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र पुल्चोकस्थित निदान अस्पतालमा बिरामीहरु पुग्छन् । डा मास्केलाई आफ्नो समस्या बताएपछि ढुक्क हुने बिरामी धेरै छन् । किनभने उनी सही उपचार मात्रै होइन, सल्लाह पनि दिन्छन् । यसले बिरामीमा डाक्टरप्रतिको विश्वास मात्रै होइन, भरोसा समेत बढाउँछ ।
मुटुरोग सम्बन्धि सम्पूर्ण उपचार सेवा दिने सरकारी अस्पतालका रुपमा परिचित छ शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र । फराकिलो स्थान, ठूला भवन, सयौं डाक्टर, अत्याधुनिक उपकरण र छिटोछरितो उपचार सेवा यसको विशेषता बनिसकेको छ ।
तर, अस्पतालको यो भव्यता त्यसै बनेको होइन । डा मास्केहरुको लगन, खटन र सक्रियताको परिणाम हो । यो सव भनिरहँदा डा मास्केले नै बनाएका हुन् भनेर अथ्र्याउनु हुँदैन । तर, उनको योगदानलाई नजरअन्दाज गरेर यो अस्पतालको आजको अवस्था परिकल्पना पनि गर्न सकिँदैन ।
सरकारले यसलाई मुटु रोग सम्बन्धि उपचार र अध्ययन केन्द्र बनाउने परिकल्पना गरिरहँदा त्यसलाई यथार्थमा परिणत गर्न इच्छुक सुरुवाती दुई डाक्टर मध्यका उनी एक हुन् । सन् १९९८ मा सिनियर रेसिडेन्टका रुपमा उनी यहाँ प्रवेश गरेका हुन् । बाँसबारी छालाजुत्ता कारखानको नयाँ भवनलाई अस्पतालको रुप दिन डा मानबहादुर केसी र उनी प्रवेश गरेका हुन् ।
कारखानको भवन अस्पताल हो भन्ने जनाउन उनीहरुसँग आफूले लगाएको सेतो एप्रोन, स्टेथेस्कोप र जम्माजम्मी एउटा इसिजि मेसिन थियो । उनी सम्झिन्छन्, ‘त्यत्तिको भरमा डा केसी र म ओपिडि सेवा दिन्थ्यौं । मान्छेहरु यो पनि अस्पताल हो ? भनेर हाँस्थे ।’
डा मास्के र केसीले अरुले के भन्छन् भन्नेमा कम ध्यान दिए । आफूले के गर्ने भन्नेमा बढी सक्रियता जनाए । त्यसैको परिणाम हो, आज यो अस्पताल । त्यसैको परिणाम बनेको छ, अस्पताल भनेको त यही हो ।
सुरुमा ओपिडी मात्रै चलाएपनि पछि ७ बेडको अस्पतालका रुपमा सुरु गरे । त्यसको ६÷७ महिनापछि २० बेडको अस्पताल बनाए । उनलाई सम्झना छ, ‘हामी दिनमा १०–१५ जना बिरामी हेथ्र्यौं ।’ अहिले यो अस्पतालले एक हजार देखि १५ सयको संख्याका बिरामीलाई एकदिनमै उपचार सेवा दिन्छ ।
झन्डै ९ महिना जति यो अस्पतालमा दुईजना डाक्टर मात्रै भए । विस्तारै अरु चिकित्सक थपिन थाले । सरकारले संरचना विस्तार गर्दै लग्यो । डा मास्केहरुले सरकारको योजनामा साथ मात्रै दिएनन्, कसरी राम्रो बनाउने भनेर आफैंले सरकारलाई योजना दिए ।
अस्पतालमा उनी कार्डियोलोजिस्टका रुपमा सन् १९९८ देखि २००५ सम्म काम गरे । २००५ देखि कन्सल्ट्यान्ट कार्डियोलोजिस्टका रुपमा २०११ सम्म सेवा दिए । २०११ देखि उनलाई अस्पतालले सिनियर कार्डियोलोजिष्टको जिम्मेवारी सुम्पेको छ ।
यही बीचमा उनले अस्पतालको व्यवस्थापकीय जिम्मेवारी समेत सम्हाले । सन् २००९ देखि २०११ सम्म उनले कार्यकारी निर्देशकका रुपमा अस्पतालको व्यवस्थापकीय जिम्मेवारीमा थिए ।
त्यसअघि अस्पतालकै कार्डियाक क्याथराइजेसन ल्याब्रोटरीका प्रमुख भए । हालसम्म पनि कार्डियोलोजी विभागका प्रमुख भएर सेवा दिइरहेका छन् ।
उनले यी जिम्मेवारी अस्पतालमा सुरुदेखि काम गरेको चिकित्सकका रुपमा मात्रै पाएका होइनन् । आफ्नो क्षमता र दक्षता विकासमा निरन्तर उनी लागिपरेर हासिल गरेका उपलब्धि हुन् यी ।
काठमाडौं वसन्तपुरको अड्केनारायणस्थानमा जन्मिएका उनले भानुभक्त माध्यामिक विद्यालय पानीपोखरीबाट एसएलसी गरे । अमृत साइन्स क्याम्पसबाट आइएसी गरे । चितगाउँ मेडिकल कलेज बंगलादेशबाट एमबिबिएस र नेशनल इन्सिच्युट अफ कार्डियोभाष्कुलर डिजिज बंगलादेशबाटै उनले मुटुरोगमा विशेषज्ञता हासिल गरेका हुन् ।
त्यसपछि पनि नयाँ सीप र प्रविधिसँग आफूलाई समाहित गर्न विभिन्न तालिम र फेलोसिप लिएका छन् । इकोकार्डियोलोजीको एडभान्स तालिम श्रीलंकाबाट लिए । बैंकक थाइल्यान्डबाट डायग्नोष्टिक इन्टरभेन्सनल कार्डियोलोजी तालिम लिए । अष्ट्रेलिया पुगेर कार्डियाक क्याथराइजेसनम र क्रोनरी एनजिओग्राफीमा पोष्ट ग्य्राजुएट तालिम लिए ।
अष्ट्रेलियाबाटै इन्टरभेन्सलनल कार्डियोलोजीमा क्लिनिक फेल लिए । न्युक्लियिर कार्डियोलोजी र मायोकार्डियल भायबिलिटि, पेट स्क्यान एन्ड पेट÷सिटी स्क्यान कोर्स भियतानम पुगेर लिए । कोरियामा कम्पलेक्स कार्डियोभाष्कुलर इन्टर्नभेन्स वर्कसपमा सहभागी भए भने जापान पुगेर रोटाब्लाटर एन्ड आइभीयुएस तालि लिए । युरोपियन सोसाइटी अफ कार्डियोलोजी, अमेरिकन कलेज अफ कार्डियोलोजी र रोयल कलेज अफ पिजिसियनबाट फेलोसिप समेत लिएका छन् ।
सिक्ने र अध्ययन गर्ने मात्रै होइन, अनुसन्धानमा समेत उनी उत्तिकै रुची राख्छन् । उनले लेखन र सहलेखन गरेका ३७ वटा अनुसन्धान विभिन्न जर्नलमा छापिएका छन् ।
बंगलादेशबाट एमबिबिएस सकेर आएपछि उनले वीर अस्पतालबाट आफ्नो चिकित्सिकी जीवन सुरु गरेका थिए । रेसिडेन्ट डाक्टरका रुपमा उनले सन् १९९१ देखि सन् १९९५ सम्म त्यहाँ काम गरे । यहीँ काम गर्दा उनलाई महशुस भयो, ‘मुटुरोगमा विशेषज्ञ निकै न्युन छन् । यही विषयमा विशेषज्ञता हासिल गरेर सेवा दिन्छु ।’ वीर अस्पतालबाट तीन महिनाका लागि उनको सरुवा जिल्ला अस्पताल हुम्लामा भएको थियो । कर्णालीको विकट त्यो जिल्ला जान उनले आनाकानी गरेनन् । सेवाभावले पुगे र तीन महिना सेवा दिएर थप अध्ययनका लागि बंगलादेश गए ।
उनी आफूले मुटुरोगमा विशेषज्ञता हासिल गर्नुको कारण सम्झिन्छन्, ‘नेपालमा चिकित्सकको संख्या नै कम थियो । त्यसैमा मुटुरोगमा त धेरै कम । । नेपालमा मुटुरोगको उपचार सेवासुविधा पनि कमै थिए । भारत जानुपथ्र्यो । नेपालमै एनजिओग्राम र एनजिओप्लाष्टि सुरु गर्ने चाहनाले म मुटुरोगमा एमडी गर्न बंगलादेश पुगें ।’
खानापान र जीवनशैलीले मुटुरोगी बढाइरहेको छ । मुटु रोगका कारक बढेकाले रोगी बढेका छन् । त्यही अनुसार सुविधा र सेवा पनि बढ्दै गइरहेका छन् । उनी बिरामी भएपछि उपचार गर्न सक्रिय हुन्छन् नै, बिरामीलाई सकेसम्म मुटुको समस्या आउन नदिन सचेत गराउँछन् ।
एकीन तथ्यांक नभएपनि नेपालमा १५ प्रतिशत मुटुरोगी भएको अनुमान छ । यसैगरी एक हजार मध्य दुई जनामा मुटुको बाथ रोग छ भने २० प्रतिशतमा उच्च रक्तचाप छ । ५ प्रतिशतमा वयष्कमा हृदयाघातको लक्षण देखिने गरेको छ । त्यसैले अझै जनशक्ति र उपचार सेवा बढाउँदै लैजानुपर्ने उनले देखेका छन् ।
उनी भन्छन्, ‘धेरै ठाउँमा मुटुको उपचार सेवा छ । काठमाडौं बाहिर पनि विस्तार भइरहेको छ । तर, बिरामी बढिरहेकाले अझै जनशक्ति र उपचार केन्द्रको अभाव देखिन्छ ।’
सरकारले १५ वर्ष मुनि र ७५ वर्ष माथिकालाई निःशुल्क मुटुको उपचार सेवा दिएकोमा उनी खुशी छन् । हरेक मुटुरोगीले उपचारका लागि एक लाख रुपैयाँ सरकारबाट पाउन व्यवस्थाले केही राहत दिएको उनलाई महशुस भएको छ । तर, सरकारले मुटुरोगी घटाउन जनचेतनाका कार्यक्रममा जोड दिन उनी सुझाउँछन् ।
उनी भन्छन्, ‘जनशक्ति, भौतिक पूर्वाधार र उपकरण सम्पन्न भएकाले हामीले धेरै बिरामी बचाउन सकेका छौं ।’
अहिले बिरामी सचेत भइरहेको उनले देखेका छन् । उपचारका विषयमा न्युनतम जानकारी हासिल गरेर चिकित्सककोमा आउने भएकाले बुझाउन सजिलो उनले महशुस गरेका छन् । उनको चाहना छ, ‘मुटु रोग लागेपछि उपचारका विषयमा पढ्न थालेजस्तै रोग लाग्नै नदिन अपनाउनुपर्ने उपायका विषयमा समेत सर्वसाधारणले पढ्न थालुन् ।’
FACEBOOK COMMENTS