जमुना भण्डारी
काठमाडौं, मंसिर १५ – चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको निर्यातमा २४ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चार महिनामा तथ्याङ्कका अनुसार यस अवधिमा नेपालबाट ३६ अर्ब २७ करोड बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको सोही अवधिमा नेपालबाट २९ अर्ब २८ करोड रुपैयाँको सामान निर्यात भएको थियो।
यस अवधिमा चार खर्ब ५० अर्ब रुपैयाँको वस्तु आयात हुँदा ३६ अर्ब २७ करोडको वस्तु निर्यात भएको छ ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चार खर्ब ८३ अर्बको वस्तु आयात हुँदा २९ अर्ब २८ करोडको मात्रै वस्तु निर्यात भएको थियो ।
मुलुकको चार महिनाको व्यापार घाटा ८.९ प्रतिशतले घटेको छ। गत वर्ष ४ खर्ब ५४ अर्बको व्यापार घाटा रहेकोमा यो वर्षको पहिलो चार महिनामा नेपालको व्यापार घाटा ४ खर्ब १४ अर्बमा झरेको हो।
पछिल्लो समय नेपालबाट सबैभन्दा बढी पाम आयल, सोयाबिन आयल, कालो चिया, ऊनी घागो तथा टेक्सटाइलजन्य वस्तुहरुको निर्यात बढेको छ । नेपालबाट प्रशोधित पाम तेल ८ अर्ब ३६ करोड, सेन्थेटिक यार्न २ अर्ब ७९ करोड, उनीको गलैंचा कार्पेट २ अर्ब ६२ करोड, तयारी कपडा २ अर्ब १६ करोड, प्रशोधित भटमासको तेल २ अर्ब २ करोड, अलैची १ अर्ब ४५ करोड, फलफूलको जुस १ अर्ब ३० करोड, चिया १ अर्ब १६ करोड र सल, दोसल्ला र पछ्यौरा १ अर्ब ६ करोडको निर्यात भएको छ।
त्यसै गरी नेपालमा सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ । नेपालमा पहिलो चार महिनामा डिजेल २९ अर्ब २४ करोड, पेट्रोल १२ अर्ब ३७ करोड, एलपी ग्यास आठ अर्ब १३ करोडको आयात भएको छ। तयारी कपडा १४ अर्ब ७३ करोड, एम. एस. विलेट १२ अर्ब ७० करोड, मोवाइल टेलिफोन ८ अर्ब ६२ करोड, औषधी ८ अर्ब ३१ करोड, मोटरसाइकल ८ अर्ब १७ करोड आयात गरिएको भन्सार विभागको तथ्याङ्कले जनाएको छ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा आयात हुने औद्योगिक कच्चा पदार्थको आयात पनि घटेको छ । विभागका अनुसार स्टील तथा फलाम र कोइलाको आयात ह्वात्तै घटेको छ । पछिल्लो समय स्टील, छड र सिमेन्टको बजार त्यति विस्तार हुन नसिक्दा औद्योगिक कच्चा पदार्थको आयात घटेको हो । पहिलो ४ महीनामा स्टील तथा फलामको आयात ३३ प्रतिशत र कोइलाको आयात ३७ दशमलव ५ प्रतिशतले घटेको छ ।
तथ्यांकअनुसार अघिल्लो बर्षको सोही अवधिमा ५२ अर्ब ६५ करोडको स्टील र फलाम आयात भएको थियो भने अहिले घटेर ३५ अर्ब १४ करोडमा झरेको छ । अघिल्लो बर्ष सोही समयमा ५ अर्ब ९३ करोड रहेको कोइलाको आयात भएकोमा यस वर्ष ३ अर्ब ७१ करोडको मात्र कोइला आयात भएको देखिन्छ ।
भन्सार विभागका अनुसार नेपालबाट भारत, चीन, बंगलादेश, थाइल्यान्ड, पाकिस्तान, अमेरिकालगायतका मुलुकहरुमा वस्तु निर्यात हुने गर्दछ ।
चालू आर्थिक वर्षको पहिलो चार महिनाको अवधिसम्म नेपालको व्यापार घाटा १सय २७ मुलुकसँग रहेको छ ।नेपालको व्यापार घाटा भारत, चीन, इन्डोनेसिया, अमेरिका, क्यानडालगायतका मुलुकहरुसँग रहेको भन्सार विभागले जनाएको छ ।
FACEBOOK COMMENTS