काठमाडौं, माघ २ – बाह्रबिसे नगरपालिका–४ ठूलो पलाँतीमा आर्थिक वर्ष २०७१/२०७२ देखि जल उत्पन्न प्रकोप नियन्त्रण विभागको आर्थिक सहयोगमा खेलमैदान निर्माण सुरु भएको थियो । खेलमैदान निर्माणका लागि तत्कालीन सांसद एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले पहल गर्नुभएको हो । भीर पाखाका बीचमा ४५ मिटर चौडाइ र ८५ देखि १०० मिटरसम्म लम्बाइको खेलमैदान निर्माणको कल्पना गर्नु नै असम्भव लाग्छ ।
चिलाउने र अँगेरीका बुट्यानले ढाकेको बाँदरसमेत लड्ने भीरका नामले चिनिने ठाउँमा खेल मैदान निर्माण गरी पुस २२ देखि २८ गतेसम्म जिल्लाव्यापी फुटबल प्रतियोगितासमेत सम्पन्न भएको छ ।
अँगेर पाखा सामुदायिक वनको भीर पाखा खारेर करिब १० रोपनी क्षेत्रफलमा फैलिएको पर्खाल निर्माण गर्न करिब रु १० करोड नै खर्च भएको छ । विभागले सात करोड रुपैयाँ, पूर्व मन्त्री बस्नेतले आर्थिक वर्ष २०७३/२०७४ मा सांसद पूर्वाधार विकास कोषबाट, स्थानीयवासी एवं सङ्घ संस्थाको समेत सहयोग जुटाएर खेल मैदान निर्माण गरिएको हो ।
भीरमा माथिबाट कटिङ र तलबाट जालीको पर्खाल लगाएर खेलमैदान तयार गरिरहेकै बेला विसं २०७२ वैशाख १२ गतेको भूकम्पले सबैभन्दा बढी क्षति पुर्याएको सिन्धुपाल्चोकमा बनिरहेको खेलमैदानलाई पनि बाँकी राखेन ।
निर्माणाधीन खेलमैदानमा पनि भूकम्पले क्षति गरेको पूर्व मन्त्री बस्नेत बताउनुहुन्छ । भूकम्पले जाली गारो भत्किएपछि भौगोलिकरूपमा भीर, पाखाको दुर्गम बस्तीमा आरसीसी प्लङ ढलान गरेर आकर्षक खेलमैदान तयार भएको छ ।
पुल बनाउन राखिने रड राखेर बलियो गरी खेलमैदान तयार गरिएको हो । खेलमैदान तयार भएसँगै फुटबल, भलिबललगायत खेलकुदका लागि टाढा-टाढा पुग्नुपर्ने समस्या समाधान भएकाले युवावर्ग खुसी भएका छन् ।
भीरपाखा काटेर र पर्खालले उचालेर निर्माण गरिएको खेलमैदानबाट खेलाडी दर्शक नलडुन् भनी करिब ६०० मिटर भागमा नारायणहिटी दरबारको भन्दा आकर्षक डण्डी राखेर बार लगाइएको छ। बार करिब छ मिटर उचाइको छ । यो बार भने निजी क्षेत्रका तर्फबाट निर्माण गरिएको हो ।
खेलमैदानसँगै ठूला र सानाका लागि छुट्टाछुट्टै पौडी पोखरी, कभर्ड हल, स्वास्थ्य चौकी र हेलिप्याडसमेत निर्माण भइसकेको छ । बाह्रबिसे, लामोसाँघु बजार, सुनकोशी र भोटेकोशीलगायत नदी एवं वरिपरिका आकर्षक डाँडाका साथै हिमाली शृङ्खला देखिने खेलमैदान नजिकै भ्यू टावर (दृश्यावलोकन स्तम्भ) समेत निर्माण गरिने योजना छ ।
FACEBOOK COMMENTS