काठमाडौं,कार्तिक ७ — चालू आर्थिक वर्षको दोस्रो महिनामा पनि औसत मूल्य वृद्धिदर लक्ष्यित सीमाभन्दा माथि रह्यो । तरकारी, फलफूल, मासु तथा माछा, मसला लुगा तथा जुत्ता, घरायसी उपभोग्य वस्तु तथा सेवाको मूल्य उच्च भएकाले गत भदौमा मूल्य वृद्धिदर लक्षित सीमा भन्दा माथि रहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ६ प्रतिशत मूल्य वृद्धिदर कायम राख्न लक्ष्य तय गरेको छ। जबकी गत साउनमा पनि मूल्य वृद्धिदर ६ प्रतिशतभन्दा माथि थियो।
भदौमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ६.५१ प्रतिशत र गैर(खाद्य तथा सेवा समूहको ५.८९ प्रतिशत छ। ‘खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्य वृद्धि उच्च छ,’ प्रतिवेदनमा भनिएको छ, ‘गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः लुगा तथा जुत्ता, घरायसी उपयोगिताका वस्तु तथा सेवा र शिक्षा उपसमूहको मूल्य वृद्धि उच्च छ।’
क्षेत्रगत रुपमा काठमाडौं उपत्यकामा मूल्य वृद्धिदर सबैभन्दा धेरै छ। राष्ट्र बैंकको अनुसार गत भदौमा काठमाडौं उपत्यकामा मूल्यवृद्धि ७.९० प्रतिशत, तराईमा ५.६९ प्रतिशत, पहाडमा ५.०९ प्रतिशत र हिमालमा ५.०२ प्रतिशत छ। ०७५ भदौमा काठमाडौं उपत्यकामा २.९८ प्रतिशत, तराईमा ३.६८ प्रतिशत, पहाडमा ५.० प्रतिशत र हिमालमा ३.३५ प्रतिशत मूल्य वृद्धि दर रहेको थियो। आजको कान्तिपुर दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS