काठमाडौं, माघ १२ – रााष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको पानी पहिलो पटक फागुनमा काठमाडौं ल्याउने तयारी भएको छ । पूर्ण रुपमा आउने नभई परीक्षणका लागि फागुनको पहिलो साता पानी छोड्ने गरी तयारी गरिएको छ । सुरुङको मर्मतको काम सकेलगत्तै पानी छाड्ने तयारी गरिएको छ । सुरुङमा थालिएको सुधारको काम तीन हप्तामा सकेर फागुन पहिलो साताबाट पानी पठाई परीक्षणको काम शुरु गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले सुरुङको काम सम्पन्न भइसकेको भएपनि परिक्षण अघि विज्ञ समूहलाई निरिक्षण गराएको र उक्त समूहको सुझावको आधारमा सुरुङको दिगोपनाको लागि केही सुधार गर्नुपर्ने भएकाले हाल सुधारका काम भइरहेको बताए ।
सुरुङ परीक्षण गर्दा यसअघिको जस्तो दुर्घटना हुन नदिन विदेशबाट ल्याएको विज्ञ समूहबाट सुरुङको निरीक्षण पनि गराएका छौं’, कार्यकारी निर्देशक खत्रीले भने, ‘सुरुङको दीगोपनाका लागि केही सुधारका कामहरू सुरू गरेका छौं । २४सै घण्टा गरेर बढीमा चार हप्तामा त्यो काम पनि सम्पन्न गछौं ।’ हाल दोस्रो र तेस्रो चरणका लागि पहुँच मार्गको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । मेलम्ची पुल बजारदेखि दोस्रो चरणको लार्के हुँदै याङ्ग्रीसम्म पुग्ने २५ किलोमिटर पहुँच मार्गको निर्माण कार्य भइरहेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनीयर राजेन्द्रप्रसाद पन्तले बताए ।
कूल २५ किलोमिटर सडकमध्ये सडक विभागद्वारा १५ र १० किलोमिटर खानेपानी आयोजनाद्वारा निर्माण भइरहेको हो । कालोपत्रसहित दुई लेनको सडक निर्माणका लागि जग्गाधनीहरुलाई क्षतिपूर्ति रकम वितरण भइरहेको बताइएको छ । गत डिसेम्बरमा सकिनुपर्ने उक्त सडकको काम क्षतिपूर्तिमा कुरा नमिल्दा स्थानीयवासीले अवरोध गरेपछि तोकिएको समयभित्र काम पूरा हुन नसक्दा पछि धकेलिएको आयोजनाले जनाएको छ ।
FACEBOOK COMMENTS