(उर्मिला श्रेष्ठ नेपाल महिला चेम्बरकी अध्यक्ष हुन । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी सिईओ समेत रहेकी श्रेष्ठ आँफैमा एक सफल नारी पनि हुन । साल्ट ट्रेडिङलाई कुशल व्यवस्थापकिय नेतृत्व प्रदान गर्दै आएकी उनले पछिल्लो समय महिला चेम्बरलाई पनि उस्तै सबल नेतृत्व प्रदान गर्दै आएकी छिन । तसर्थ नेपालमा समकालिन समयमा औंलामा गन्न सकिने सफल महिलाहरुको पंक्तीमा पर्ने नाउँ हो, उर्मिला श्रेष्ठ । सक्षम, कर्मठ, इमान्दार एवम् बौद्धिक नारीको रुपमा चिरपरिचित श्रेष्ठ राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा ख्याती कमाउन सफल व्यक्तित्व पनि हुन । त्यसो त व्यापारिक पृष्ठभुमी बोकेको नेवार कुलमा जन्मिएकी श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शका पुर्व अध्यक्ष स्वर्गिय ईश्वर लाल श्रेष्ठकी सुपुत्री हुन । पिताजीको पदचापलाई पछयाउदै नेपालको चेम्बर आन्दोलनलाई अघि बढाउने सवालमा उर्मिलाले ईश्वरलाल जस्तै अब्बलता प्रस्तुत गर्दै आएकी छिन । बदलिदो विश्व परिवेश माझ नेपालमा पनि महिला सशक्तिकरणको सवाल टडकारो रुपमा उठदै आईरहेको सन्दर्भमा श्रेष्ठ नेतृत्वको नेपाल महिला चेम्बरले मुलुक भित्र महिला उद्यमशिलता विकासका लागि ठोस कार्यक्रम पस्कदै महत्वपूर्ण योगदान पुर्याउदै आएको छ । त्यसो त, १११ औ अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर नेपाल चेम्बर अफ कमर्शसँगको सहकार्यमा नेपाल महिला चेम्बरले महिला चेम्बर ट्रेड फेयर २०२१ आयोजना गर्न गईरहेको छ । मार्च ०८ गते बाट शुरु हुने उक्त तीन दिने मेला मार्च १० सम्म जारी रहने छ । यसै सन्दर्भमा उक्त मेलाको तयारी के कस्तो छ भन्ने बिषयमा अध्यक्ष श्रेष्ठसँग कर्पोरेटखबरका सम्पादक सरोज ओझाले गरेको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ । )
महिला चेम्बर ट्रेड फेयर २०२१ बारे केही प्रकाश पारिदिनुस् न ?
नेपाल चेम्बर ७० बर्ष पुगेको उपलक्ष्यमा साथै नारी दिवसको सन्दर्भ पारेर नेपाल चेम्बर अफ कमर्श र नेपाल महिला चेम्बरले संयुक्त रुपमा महिला चेम्बर ट्रेड फेयर २०२१ आयोजना गर्न लागेको हो । यस मेला तीन दिनसम्म अर्थात मार्च ८ मा शुरु भई १० मार्चमा सम्पन्न हुनेछ ।लाजिम्पाट स्थित रेडिसन होटल परिसरमा मेला आयोजना हुँदैछ । हाम्रो यस मेलाको थिम ‘मेड इन नेपाल, मेक इन नेपाल’ भन्ने रहेको छ । महिला उद्यमीद्वारा उत्पादित सामाग्रीहरु मेलामा बिक्रीका लागि राखिने छ । मार्च ८ मा सम्माननिय उपरास्ट्रपति ज्युबाट मेलाको समुदघाटन गर्ने कार्यक्रम तय गरेका छौ । सो अवसरमा विभिन्न देशका महिला राजदुत ज्युहरु समेत कार्यक्रममा सरिक हुँदै हुनुहुन्छ ।
’मेड इन नेपाल, मेक इन नेपाल’ को थिम बारे पनि केही प्रस्ट पारिदिनुस् न ?
’मेड इन नेपाल, मेक इन नेपाल’ को थिम भनेको नेपाली उत्पादनलाई प्रबर्द्धन गर्ने भन्ने नै हो । हामीले हाम्रो स्वदेशी उत्पादनलाई आन्तरिक बजारमा प्रबर्द्धन गर्नुपर्छ भन्ने सोचका साथ यस थिममा आधारित रहेर मेला आयोजना गरेका हौं । हुन त हामीले सधैं स्वदेशी उत्पादनलाई प्रबर्द्धन गर्ने नीति लिदै आएका छौ र यस अघि पनि आन्तरिक उत्पादनलाई प्राथमिकतामा राख्दै तीज मेला लगायतका बजार प्रबर्द्धनात्मक गतिविधी हाम्रो अगुवाईमा भएको छ । अहिले कोभिडका कारण अन्तरराष्ट्रिय बजारसम्म पुग्न केही जटिलताहरु थपिएको सन्दर्भमा हाम्रो लोकल प्रडक्टलाई आन्तरिक बजारमा खपत गराउन आवश्यक पनि छ, त्यो कुरा सबैलाई बुझाउनका लागि पनि मेला गतिलो माध्यम बन्ने हुँदा हामीले यो थिमलाई क्यारि गरेका हौ । मेलाबाट महिला उद्यमीहरुले प्रशस्त लाभ हासिल गर्नु हुनेछ भने अझ मुख्य रुपमा भन्नु पर्दा देशको अर्थतन्त्रलाई माथि उकास्न हाम्रो पनि दायित्व रहने हुँदा यस मेलालाई राष्ट्रहित र उद्यमशिलता विकाससँग जोडने ब्रिज भनौ न सेतुको रुपमा उपयोग गर्ने हाम्रो सोच हो । देशको आर्थिक गतिविधीलाई चलायमान गराउन केही हद राहत मिल्ने अपेक्षा पनि हामीले राखेका छौ ।
मेलामा कस्ता खालका सामाग्रीहरु बिक्रीका लागि राखिने छ र सेवामुलक क्षेत्रको उपस्थिती रहन्छ कि रहदैन ?
मेलामा उत्पादित वस्तुका अलवा सेवामुलक अर्थात भनौ दुवै प्रकारका स्टलहरु रहन्छन् ।यद्यपी स्वदेशी उत्पादनका स्टलहरु बढी मात्रामा रहने छन् । खासमा खाद्य एवम् पेय, लत्ता कपडा, हस्तकला र सजावटका सामाग्री, किचन सामाग्री, हेल्थ र फिटनेश, कुक वेयर, फेशन प्रडक्ट, ट्राभल एण्ड टुर, इलेक्ट्रीकल र इलोक्ट्रोनिक्स, किडस र बेबी प्रडक्ट, डिजाइनर एसेसोरिज, नक्कली गरगहना र सौन्दर्य सम्बन्धी स्टल रहन्छन् ।
भने पछि मेला आयोजनाको मुल उदेश्य नेपाली उत्पादनलाई प्रबर्द्धन गर्ने भन्ने हो ?
हो, महिला चेम्बर ट्रेड फेयर जुन मेड इन नेपाल, मेक इन नेपाल’ को थिममा गर्दै छौ यसको ध्येय नै नेपाली उत्पादनलाई प्रबर्द्धन गर्नु हो । तर अर्को तर्फ हाम्रोमा केही बाह्य उत्पादन सहितका सिमित संख्यामा स्टलहरु भने रहनेछन् । अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर हामीले आयोजना गर्न लागेको यस मेलाले महिला उद्यमशिलतालाई पनि प्रमोट गर्छ भन्ने हाम्रो बुझाई छ । आपसमा हुने भेटघाटबाट केही सिक्ने,सहयोग एवम् सदभाव बाडने र आपसी हितका लागि मिलीजुली काम गर्ने वातावरण मिल्ने हुँदा यो एउटा अवसर पनि हो भन्न चाहन्छु ।
मेलाको अरु आकर्सणहरु पनि केही छन् कि ?
त्यसो त, प्रदर्शनीको दोस्रो दिन कामना विकास बैंकले महिला उद्यमीहरुलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम संचालन गर्दै हुनुहुन्छ भने ‘अर्को तर्फ मेलाको अवसरमा कलाकारहरुले मिथिला आर्ट लगायतका कला प्रदर्शन गर्नुहुनेछ ।
मेला आयोजना तयारीको बिषयमा पनि केही बताईदिनु हुन्छ कि ?
करिब १०० हाराहारीमा स्टलहरु राख्ने तयारी अनुरुप हामीले स्टल बुकिङ खुला गरिसकेका छौ । मेलालाई व्यवस्थित बनाउदै सफल पार्न हामीले मेला कमिटी गठन गरेर अघि बढेका छौ । वुमन चेम्बर र नेपाल चेम्बरका पदाधिकारी, सदस्य साथीहरु एवम् हाम्रा कर्मचारीहरु दिन रात नभनी खटिदै आएका छौ । आजको मितीसम्म करिब करिब ७० प्रतिशत स्टल बुकिङ भैसकेको छ । मेला कै तयारी स्वरुप हामीले गत फाल्गुण १४ गते पत्रकार सम्मेलनको आयोजना गरिसकेका छौ । मेला व्यवस्थापनका अन्य कामहरु द्रुत गतिमा भैरहेको छ । अब त हामीसँग धेरै समय पनि छैन, तथापी ईच्छुक फर्महरुलाई निराश नपारौ भनेर विविध कारणवश ढिला गरि स्टल बुकिङ गर्न बाध्यतामा पर्नुहुनेको हकमा मेलाको अघिल्लो दिनसम्म पनि स्टल बुकिङ खुला रहने नै छ । मेलालाई सफल पार्न सबैको साथ सहयोगको अपेक्षा राखेका छौ । यो त्यो नभनी हामीले सम्पुर्णलाई मेलामा सरिक भई व्यापारिक चहलपहल बढाउन पाल्नुहुन अनुरोध गर्दै यहाँहरु सबैलाई स्वागत गर्न हामी आतुर रहेको निवेदन गर्न चाहन्छु ।
FACEBOOK COMMENTS