काठमाडौं । अघिल्लो वर्षको बन्दाबन्दीयता मोटरसाइकल तथा स्कूटरको आयात बढ्दै गएको छ । कोरोनाले अन्य थुप्रै व्यवसाय धराशयी भएपनि मोटरसाइकलको आयात भने बन्दाबन्दी खुलेपछि गतवर्षको साउनदेखि बढ्दै गएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ११ महीनामा मोटरसाइकलको आयात ६० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा कुल २ लाख २ हजार ५६२ वटा मोटरसाइकल आयात भएकोमा यस वर्ष आयात वृद्धि भई ३ लाख २३ हजार ४६० पुगेको छ । यस अवधिमा मोटरसाइकल आयातका लागि कुल ३० अर्ब बाहिरिएको छ । अघिल्लो वर्ष नेपालमा १८ अर्ब २४ करोडको मोटरसाइकल आयात भएको थियो ।
२०७६ चैत दोस्रो सातादेखि सरकारले नेपालमा कोरोनाको संक्रमण देखिन थालेपछि बन्दाबन्दी गरेको थियो । ३ महीना लामो बन्दाबन्दी असारबाट खुकुलो भएकोमा साउनदेखि नै दुईपांग्रे सवारीको आयात बढ्दै गएको थियो ।
नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालका अनुसार कोरोना संक्रमणपछि निजी सवारीप्रतिको आकर्षण थप बढेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS