काठमाडौं, पुस २१ – इजरायलले अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नाले बनाएको कोरोना खोपलाई प्रयोगका लागि अनुमति दिएको छ । कम्पनीले सोमबार एक वक्तव्यमार्फत इजरायलले कोरोना खोप प्रयोगका लागि अनुमति दिएको बताएको छ ।
‘आजको अनुमति हाम्रो कम्पनी र कोभिड–१९ विरुद्धको विश्वव्यापी लडाइँमा कोशेढुंगा हो,’ मोडर्नाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) स्टिफेन बान्सेलले भनेका छन्, ‘उत्तर अमेरिकाबाहिर मोडर्नाको कोरोना खोपले अनुमति पाएको यो पहिलो हो भने, समग्रमा तेस्रो । म इजरायलको स्वास्थ्य मन्त्रालयको निरन्तरको प्रयासलाई धन्यवाद दिन चाहन्छु ।’
इजरायलले पहिलो चरणमा ६० लाख डोज अर्डर गरेको छ । केही दिनमै इजरायलमा कोरोना खोप आपूर्ति सुरु हुने पनि कम्पनीले जनाएको छ । मोडर्नाको कोरोना खोपलाई पहिलो पटक डिसेम्बर १८ मा अमेरिकाले प्रयोगका लागि अनुमति दिएको थियो । त्यसपछि डिसेम्बर २३ मा क्यानडाले मोडर्नाको खोपलाई अनुमति दिएको थियो । युरोपेली युनियन, सिंगापुर, स्विजरल्यान्डका साथै बेलायतलमा पनि यसको प्रयोगका लागि समीक्षा भइरहेको छ ।
FACEBOOK COMMENTS