काठमाडौं, पुस २४ – अमेरिकी बायोटेक कम्पनी मोडेर्नाले विकास गरेको कोरोनाविरुद्धको खोपले केही वर्षसम्मै भाइरसविरुद्ध सुरक्षा दिलाउन सक्ने प्रमुख कार्यकारीले बताएकी छन् । यसबारे शतप्रतिशत सुनिश्चित गर्न थप डाटा आवश्यक भए पनि अहिलेसम्मका अध्ययन र रिसर्चका आधारमा उनले यसको प्रबल सम्भावना रहेको उनले बताएकी हुन् ।
मोडेर्नाले गत बुधबार मात्र युरोपेली कमिसनबाट प्रयोगका लागि स्वीकृति प्राप्त गरेको थियो । कुनै पनि नयाँ रोगको खोप विकास गर्न सामान्यतया वर्षौँ लाग्ने गर्दछ, जसकारण पनि छोटो समयमा निर्माण भएका कोरोनाविरुद्धका खोपहरुबारे वैज्ञानिकहरुले अझै धेरै प्रश्नको जवाफ दिन सकिरहेका छैनन् । जस्तै, हालसम्म स्वीकृत भएका सबै खोपहरुले कति समयसम्म भाइरसविरुद्ध सुरक्षा दिलाउन सक्नेछन् भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन ।
यसैसम्बन्धी मोडेर्नाकी सीईओ स्टेफनी बेन्सेलले एक कार्यक्रममा भनेकी हुन्, “खोपले उत्पत्ति गराउने एन्टिबडिज हाम्रो शरीरबाट एकदमै विस्तारै हराउनेछ । र, हाम्रो विश्वासमा यसले सम्भावित केही वर्षसम्मै सुरक्षा दिलाउन सक्नेछ ।”
उनले यसैमा थप्दै, बेलायत र अफ्रिकामा देखा परिरहेको नयाँ प्रकारको कोरोनाभाइरसविरुद्ध पनि खोप प्रभावकारी रहेको पुष्टि गर्न कम्पनीले तयारी गरिरहेको बताएकी हुन् । स्वास्थ्यविद्हरुले पनि अहिले निर्मित खोप नयाँ किसिमको भाइरसविरुद्ध उत्तिकै प्रभावकारीरुपमा काम गर्ने बताउँदै आएका छन् ।
FACEBOOK COMMENTS