वीरगञ्ज – मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको काम तीब्र गतिमा भइरहेको छ ।
यस परियोजना अन्तर्गत रक्सौलदेखि अमलेखगञ्जसम्म १६ किलोमिटर खण्डमा पाइप गाड्ने काम सम्पन्न भइसकेको छ ।
परियोजना अन्तर्गत रक्सौलबोर्डरदेखि अमलेखगञ्जसम्म ३६.२ किलोमिटर र मोतिहारीदेखि रक्सौल बोर्डरसम्म ३३.७ किलोमिटर पाइप विछ्याउनुपर्ने हुन्छ ।
१५ महिनामा सक्ने लक्ष्यका साथ २०१७ को डिसेम्बरबाट काम सुरु गरिएको परियोजनाले ८ महिनामा झण्डै आधा काम सम्पन्न गरिसकेको छ । भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म २४ किलोमिटर क्षेत्रमा पाइप गाड्ने काम सम्पन्न भइसकेको छ ।
बाँकी क्षेत्रमा अवरोध नहटेका कारण काम अघि बढ्न सकेको छैन । परियोजनाको ठेक्का पाएको भारतीय कम्पनीले धमाधम काम गरिरहेको भएपनि स्थानीय स्तरमा देखिएका अवरोध नहट्दा कामले गति लिन नसकेको नेपाली अधिकारीहरु पनि बताउँछन् ।
पाइपलाइनमार्फत आउने पेट्रोलियम पदार्थ भण्डारणका लागि ४ वटा पुरानै ट्याङकीलाई मर्मत गरेर भण्डारण योग्य बनाउने काम भइरहेको छ ।
FACEBOOK COMMENTS