काठमाडौ, कात्तिक १३ – भारतको गुजरात राज्यका पूर्व मुख्यमन्त्री केशुभाइ पटेलको बिहीवार मृत्यु भएको छ । उनी लामो समयदेखि बिरामी थिए ।
उनलाई आज बिहान अहमदाबादमा रहेको अस्पताल लगिएको थियो र त्यहीँ नै उनको प्राणान्त भयो । गत महिना उनलाई कोरोनाभाइरस लागेको थियो । सन् १९९५ मा अनि सन् १९९८ देखि २००१ सम्म उनी दुईपटक गुजरातका मुख्यमन्त्री बनेका थिए ।
भारतका बहालवाला प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन् २००१ मा केशुभाइले नै गुजरातको मुख्यमन्त्री बनाएका थिए । मोदीले ट्वीट गरेर केशुभाइको मृत्युमा दुःख प्रकट गरे । पटेलले भाजपाका धेरै युवा कार्यकर्तालाई राजनीतिक दीक्षा दिएको उनले बताए ।
पटेलले गुजरात विधानसभा चुनाव ६ पटक जितेका थिए । सन् २०१२ मा उनले भाजपा परित्याग गरी गुजरात परिवर्तन पार्टी नामक नयाँ दल खोलेका थिए । सन् २०१२ को विधानसभा चुनावमा उनी विजयी भएका थिए तर स्वास्थ्य बिग्रँदै गएपछि सन् २०१४ मा उनले राजीनामा दिए ।
सन् १९४५ मा राष्ट्रिय स्वयंसेवक संघमा प्रचारकका प्रवेश गरेका पटेललाई सन् १९७५ मा लागू गरिएको संकटकालमा कारागार पठाइएको थियो ।
FACEBOOK COMMENTS