जमुना भण्डारी
काठमाडौं,मंसिर १७ – बैंक तथा वित्तिय संस्थाको विकाशसँगै यसको प्रविधिमा पनि विकाश भएको छ । वि.सं. १९९४ सालमा नेपाल बैंक लिमिटेडको स्थापना भएसँगै नेपालमा आधुनिक वित्तीय प्रणालीको विकासको सुरुआत भएको मानिन्छ । बैंक तथा वित्तिय संस्थाको विकाशले आम नागरिकलाई आर्थिक कारोबार गर्न पनि सहज तुल्याएको छ । केहि पहिले बैंकमा गएर चेक काटेर पैंसा निकाल्नु पर्ने बाध्यता अटोमेटिक टेलरिङ मेशिन(एटीएम) मिसिनको आगमन पछि हटेको छ । त्यस्तै गरी सामान खरिद गरेर नगद भुक्तानी गर्नु पर्ने अवस्थाको अन्त्य गरिदिएको छ विद्युतिय भुक्तानी प्रणालीले ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०७६ असोजसम्म २८ वटा वाणिज्य बैंक, २५ वटा विकाश बैक, २२ वटा फाइनान्स र ८९ वटा माइक्रो फाइनान्सहरुले आर्थिक कारोबार गर्दै आएका छन् । बैंक तथा वित्तिय संस्था विस्तार भएसँगै एटीएम बुथहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । २०७६ असोज मसान्त सम्म देशैभरी एटीएम बुथको संख्या ३५ सय २० पुगेको छ । अघिल्लो वर्ष यो संख्या २७ सय ९१ रहेको थियो । त्यस्तै गरी आर्थिक वर्ष २०७५/७६ मा एटीएम प्रयोगकर्ताको संख्या पनि २१ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार वाणिज्य बैंकको एटीएम बुथहरु धेरै रहेका छन् । देशभर ३ हजार १ सय ५७ वटा वाणिज्य बैंकको एटीएम बुथहरु रहेको छ । त्यसै गरी विकास बैंकको ३ सय १३ वटा एटीएम बुथहरु रहेको छ । सबै भन्दा कम फाइनान्सको एटीएम बुथहरु रहेका छन् । फाइनान्सको देशभर ५० वटा मात्र एटीएम बुथ रहेका छन् ।
देशमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या पनि बढेको छ । २०७६ असार मसान्त सम्म देशभर मोबाइल बैंकिङ प्रयोगकर्ता ८३ लाख ४७ हजार १८७ पुगेका छन् । जुन अघिल्लो बर्षको तुल्नामा ६४ दशमलव ११ प्रतिशतले बढी हो । अघिल्लो बर्ष सोहि अवधिमा ५० लाख ८६ हजार ६९ प्रयोगकर्ता रहेका थिए ।
नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार २०७६ असार मसान्तसम्ममा डेविट कार्ड प्रयोगकर्ताको संख्या ६७ लाख ८ हजार ५२१ पुगेको छ । जुन २०७५ असार मसान्तसम्ममा ५५ लाख ४४ हजार २५३ रहेको थियो । नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ता र डेविट कार्ड प्रयोगकर्ताको संख्याका आधारमा अहिले मोबाइल बैंकिङका प्रयोगकर्ता बढी छन् । तर अघिल्लो बर्षको सोही अवधिमा मोबाइल बैंकिङभन्दा डेविट कार्ड प्रयोगकर्ता बढी थिए ।
२१ औं शताव्दीको विश्व बैंकिङ बजार प्रविधियुक्त कारोबारमा निकै अघि बढेको छ । यूरोप, अमेरिकादेखि हाम्रा छिमेकि मुलुक भारत र चीनमा पनि रकम भुक्तानी विद्युतिय भुक्तानी प्रणाली मार्फत गर्न सुरु भइसकेको छ । छिमेकी मुलुकमा ट्याक्सी भाडादेखि चियापसलको बिलसमेत क्यूआर प्रविधिमार्फत भुक्तानी हुन थालिसकेको छ । भारत र चीनले आधुनिक बैंकिङ प्रणलीमा छलान मार्दा नेपालमा भने प्रविधि भित्रने क्रममा छन् ।
नेपालमा बैंकिङ पहुँच पुगेका नागरिकको संख्या तीव्र रुपमा बढिरहेको छ । राष्ट्र बैंकले जारी गरेको पछिल्लो तथ्यांक अनुसार नेपालमा झण्डै ६१ प्रतिशत नागरिकको पहुँचमा बैकिङ सेवा पुगेको छ । बैंकिङ पहुँच जुन अनुपातमा नागरिकमा पुगेको छ त्यस अनुरुपको वित्तीय साक्षरता भने पुग्न सकेको छैन् । वित्तीय साक्षरता बढाउन सरकार तथा बैंक तथा वित्तिय संस्थाले सहकार्य गरेर अघि बढ्नु जरुरी छ ।
FACEBOOK COMMENTS