काठमाडौं, मंसिर ९ – नेपाली कांग्रेसले परीक्षार्थीसँग चर्को शुल्क असुल्ने काठमाडौंको बसुन्धरामा रहेको मोर्गन कलेजलाई कारवाही गर्न माग गरेको छ ।
महामारीका बीच मंगलबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा काठमाडौं महानगरपालिका–३ को मोर्गन कलेजले विभिन्न बाहना बनाएर शुल्क असुलेको विषयमा विरोध गर्दै सत्यतथ्य छानविन गरी कानुनी कारवाही गर्न माग गरेको हो ।
कांग्रेसको शिक्षा विभागका सचिव डा.कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै संवैधानिक रुपमै माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने ग्यारेण्टी भइसकेको अवस्थामा मोर्गन कलेजले प्रवेश पत्र लिने क्रममा परीक्षार्थीलाई शुल्कको बाहना बनाएर परीक्षाबाट बञ्चित गराएको विषय सामाजिक सञ्जालमा आएको भन्दै सत्यतथ्य छानविन गरी कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् ।
‘नेपालको संविधान ०७२ ले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने ग्यारेन्टी मौलिक हकमा नै गरेको छ । परीक्षा शुल्कको बाहनामा विद्यार्थीलाई परीक्षाबाट बञ्चित गराउने कार्य अविलम्ब रोकियोस्,’ विज्ञप्तिमा लेखिएका छ ।
विभागका सचिव डा. पौडेलले निजी शैक्षिक संस्थामा हुने यस्ता गतिविधिले नेपालको शैक्षिक प्रणालीलाई नै गम्भीर असर पार्ने भन्दै तुरुन्त छानविन गरी कानुनी कायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।
FACEBOOK COMMENTS