काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले भावी दिनमा वैदेशिक अध्ययन र रोजगारी प्रभावित हुने सम्भावना औंल्याएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको अर्धवार्षिक समीक्षामा वैदेशिक अध्ययन तथा रोजगारीमा जाने नेपालीको सङ्ख्यामा कमी आएका कारण विप्रेषण आय घटेको तथा यो क्रम थप प्रभावित बन्नसक्ने अनुमान गरिएको हो ।
‘विगत तीन वर्षयता वर्षेनि करिब ७ लाख नेपालीहरू वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् । त्यसैगरी, वर्षेनि करिब एक लाख विद्यार्थीले वैदेशिक अध्ययनका लागि स्वीकृति लिएका छन्,’ समीक्षामा भनिएको छ, ‘पछिल्ला केही महिनायता विकसित अन्तर्राष्ट्रिय घटनाक्रमले भने यसरी विदेशिने क्रम प्रभावित हुने सम्भावना छ ।’ यसरी विदेसिने क्रम प्रभावित भए नेपाली अर्थतन्त्रको वाह्य क्षेत्र सन्तुलन र आन्तरिक उत्पादन एवम् उपभोग दुवैमा असर पर्नसक्ने सम्भावना राष्ट्र बैंकले औंल्याएको छ ।
यस्तै, समीक्षामार्फत राष्ट्र बैंकले विप्रेषण आप्रवाहको वृद्धिदर पछिल्ला महिनाहरूमा एकल अङ्कमा कायम भएकामा चिन्ता व्यक्त गरेको छ । ‘विप्रेषण आप्रवाहको वृद्धिदर पछिल्ला महिनाहरूमा एकल अङ्कमा कायम भएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह अमेरिकी डलरमा १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड अमेरिकी डलर (रु.७६३ अर्ब ८ करोड) पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर १९.५ प्रतिशत रहेको थियो,’ समीक्षामा भनिएको छ ।
यसैगरी, राष्ट्र बैंकले विश्व अर्थतन्त्र सुधारोन्मुख रहे पनि पछिल्लो समयमा देखिएको भूराजनीतिक परिस्थितिका कारण अनिश्चितताको अवस्था कायम नै रहेको उल्लेख गर्दै विकसित मुलुकहरुले अवलम्बन गर्न थालेका व्यापार, आप्रवासन र वैदेशिक सहयोग नीतिका कारण विश्वव्यापी रूपमा आर्थिक वृद्धि र मुद्रास्फीतिमा असर पर्नसक्ने जोखिम बढाएको पनि बताएको छ ।
६ महिनामा कामदार र विद्यार्थी कति बिदेसिए ?
आर्थिक वर्ष २०८१/०८२ को ६ महिनासम्म वैदेशिक रोजगारीको खोजी गर्दै चार लाख ५६ हजार ५०८ जना र अध्ययनका लागि ५५ हजार ७७ जना विदेसिएका छन् । त्यसमध्ये संस्थागत तथा व्यक्तिगत रूपमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ७४ हजार ६२२ जना र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ९० हजार ८८६ जना छन् ।
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ६ लाख ३७ हजार ११३, ०७९/८० मा सात लाख ७४ हजार ९७६ र ०८०/०८१ मा सात लाख ४१ हजार ३०२ जना वैदेशिक रोजगारीमा गएका थिए । यस्तै, क्रमशः ९५ हजार ५३२ जना, एक लाख दुई हजार ६१० जना र एक लाख १२ हजार ५९३ जना अध्ययनका निम्ति विदेसिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
हेर्नुहोस् तथ्याङ्क–
FACEBOOK COMMENTS