काठमाडौं । म्यानमारको सागाइङ क्षेत्रमा रहेको एक बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा २३ जनाको मृत्यु भएको छ ।
नजिकैका गाउँहरूबाट १५० भन्दा बढी मानिसहरू शरण लिन गुम्बामा आएको अवस्थामा आक्रमण भएको थियो ।
आक्रमणमा ३० जना घाइते भएका छन्, जसमध्ये १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मृत्यु हुनेमा चार बालबालिका पनि छन् ।
मिडिया रिपोर्टका अनुसार बिहान करिब १ बजे गाउँको गुम्बामा जेट फाइटरले बम खसालेको थियो ।
यद्यपि, यो आक्रमण कसले गरेको हो भन्ने बारेमा जानकारी अहिलेसम्म खुलाइएको छैन । सेनाले घटनाको बारेमा अहिलेसम्म केही भनेको छैन । म्यानमारको स्वतन्त्र डेमोक्रेटिक भ्वाइस अफ बर्मा अनलाइन मिडियाका अनुसार मृत्यु हुनेको संख्या ३० सम्म हुन सक्छ ।
म्यानमारमा सन् २०२१ देखि गृहयुद्ध चलिरहेको छ, जुन फेब्रुअरी २०२१ मा सेनाले गरेको विद्रोहपछि सुरु भएको थियो । सेनाले आङ सान सुकीको नेतृत्वमा रहेको निर्वाचित सरकारलाई हटाएपची अशान्ति फैलिएको छ ।
FACEBOOK COMMENTS