काठमाडौँ, २४ माघ – म्यानमारमा सेनाले सत्तापलट गरेको विरोधमा प्रदर्शन चर्किएपछि सैन्य शासकले इन्टरनेट बन्द गरिदिएको छ।
इन्टरनेट निगरानी गर्ने संस्था नेटब्लक इन्टरनेट अब्जरभेटरीका अनुसार अहिले म्यानमारभर नै इन्टरनेट लगभग बन्द गरिएको छ। १६ प्रतिशतले मात्रै इन्टरनेट सेवा प्रयोग गर्न पाएका छन्।
सोमबार सेनाले सत्ता हातमा लिएपछि आज म्यानमारमा अहिलेसम्मकै विशाल प्रदर्शन भएको छ। मध्य शहर यांगुनमा प्रदर्शनकारीको भीडले शैन्य तानाशाहका विरुद्ध चर्का नाराबाजी गरिरहेका छन्।
दंगा नियन्त्रण गर्ने प्रहरीले राजधानीको मध्यभागतर्फ जाने बाटो बन्द गरिदिएको छ।
फेसबुक प्रयोगमा प्रतिबन्ध लगाएको शैन्य शासकले इन्स्टाग्राम र ट्विटर प्रयोग पनि रोकिदिएको छ। विद्युतीय सामाजिक सञ्जालको प्रयोगमार्फत मानिसहरूलाई एकजुट हुन नदिन यस्तो गरिएको हो।
औद्योगिक मजदुरहरूले नेतृ आङ सान सूची लगायत गिरफ्तार गरिएका सबै नेतालाई रिहाइ माग गर्दै र्याली निकालेका छन्।
FACEBOOK COMMENTS