काठमाण्डौं, १९ पौष -महानगरिय प्रहरी कार्यालय प्रमुख, प्रहरी नायब महानिरिक्षक विश्वराज पोखरेलले आफूले महानगरिय प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा हाललाई दुईवटा घटनामा फोकस गरेको बताएका छन् । टुँडालदेवीमा आज आयोजित सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरक्षा शुद्धिकरण सम्बन्धी अन्तरकृया तथा सम्मान कार्यक्रम माझ प्रमुख अतिथीको आसनबाट समुदायलाई सम्बोधन गर्ने क्रम उनले सो धारणा राखेका हुन् ।
कार्यक्रममा, नेपाल सरकारका पूर्व सचिव मधुसुदन ढकाल, केशबराज कँडेल,पूर्व प्रहरी महानिरिक्षक अच्युत कृष्ण खरेल, सेनाका पूर्व जर्नेलहरु यादव बहादुर रायमाझी, हिक्मत बहादुर चन्द, पूर्व न्यायधिश बुद्धरत्न शाक्य, पूर्व सभाषद् रमा गुरागाइँ, पूर्व एआईजी कल्याण कुमार तिमल्सिना, नरेश गुरुङ, अमर सिंह शाह विशिष्ट अतिथिका रुपमा रहेका थिए भने नेपाल प्रहरीका पूर्व डिआईजीहरु रुपाल शम्शेर जबरा, वीरशरण थापा, भोग बहादुर थापा, सामुदायिक प्रहरी टुँडाल देवीका पूर्व इन्चार्ज रामकृष्ण खरेल्, सल्लाहकारहरु अच्युत सापकोटा, अनिश भट््टराई , जिएन शर्मा लगायतका अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । सो अवसर माझ सामुदायिक सेवा केन्द्र टुडाँल देवीले प्रहरी नायब महानिरिक्षक पोखरेललाई महानगरिय प्रहरी कार्यालय जस्तो गहन जिम्मेवारी बोकेको मुकाम सम्हाल्ने कार्यभार प्राप्त गरेकामा सफलताको कामना गर्दै टोलवासीको नाताले दोसल्ला ओडाई सम्मान टक्राएको थियो ।
कार्यक्रम माझ प्रमुख अतिथी पोखरेलको आफू बसोबास गर्ने टोलबाटै सम्मान पाउँदा निकै हर्षित भएको बताउँदै कार्यक्रममा उपस्थित पूर्व प्रहरी प्रमुख, पूर्व सचिव, पूर्व न्यायधिस, पूर्व सभाषद् लगायत उपस्थित अन्य व्यक्तित्वहरुबाट पाएको सुझाव र गुनासो लाई मनन गर्दै समस्यालाई सुल्झ्याउन पहल गर्ने प्रतिवद्दता व्यक्त गरे । प्रहरी नायब महानिरिक्षक पोखरेलले भने, ‘प्रहरी नै न्यायको पहिलो आरम्भ भएकोले प्रहरीसँग जनताको बढी आशा हुनु स्वभाविक हो । समाजमा केही गर्छु भन्नेका लागि धेरै चुनौति र समस्याहरु हुने रहेछ । तर त्यसलाई सामना गर्दै अगाडी बढ्न जरुरी छ । नेपाल प्रहरीको ईमान्दारितालाई हरेक नागरिकले मुल्याङ्कन गर्ने गर्दछ । अब देशमा कोही केही गर्छ भने ईमान्दार व्यक्तिले नै गर्छ । अनि मात्र देशको विकास सम्भव छ । मैले मेरो आँखाले नियालेको हजारौं अपराध छन् तर मलाई नियाल्ने हजारौंभन्दा लाखौं नागरिकहरु हुनु हुन्छ । पहिलाको तुलनामा समाजमा बस्न नआत्तिनु पर्ने अवस्था रहेको छ । सामुदायिक प्रहरीले अहिले समुदायभित्र रहेका समस्याहरुसँग नजिकबाट नियालेर काम गर्दैछ । म काठमाडौंको रानीपोखरी प्रहरी कार्यालयको प्रमुखमा आउनासाथ हाललाई दुईवटा घटनामा फोकस गरेको छु । चोरी र विप्लब समुहको त्रास, चन्दा आतङ्क साथै लागु औषध नियन्त्रणका लागि पनि नेपाल प्रहरीको छुट्टै टिम नै परिचालन गरेका छौं । सवारी दुर्घटना न्युनिकरणमा पनि सवारी चालक र व्यवसायीलाई एक साथ राखेर ट्राफिक समस्या समाधान गर्ने तर्फ कदम अगाडि बढाएका छौं ।’ प्रहरी नायब महानिरिक्षक पोखरेलले नतिजाको लागि प्रहरीले समस्या सम्बोधन गर्ने गरि काम गर्दै जाने अडान, लिडर सिपको आचरण र ब्यवहारबाट संगठनमा प्रभावकारीता छाउने प्रस्टोक्ति, अच्युत कृष्ण खरेलको नेतृत्व कालमा प्रहरी संगठनले प्राप्त गरेको साँख, सामान्य नागरिकबाट देशको स्पस्ट तस्बिर आउछ भन्ने सन्दर्भ, हजारौ मन मष्तिष्कले विभिन्न तहका प्रहरी नेतृत्वलाई अडिट गरिरहेको छ भन्ने भाव, नागरिकहरु आफन्तबाट नै बढि असुरक्षित बन्दै गएको तथ्य लगायत शान्ति सुरक्षाको जल्दाबल्दा बिषयमा बोलेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रहरीका पूर्व महानिरिक्षक अच्युत कृष्ण खरेलले अन्तर्कृयाको क्रममा बोल्दै समाजका हरेक व्यक्तिलाई सुरक्षा अवश्यक रहेको र त्यसको लागि सुरक्षा सम्बन्धी अध्ययन गर्न जरुरी देखिएको बताएका थिए । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै सामुदायिक सेवा केन्द्रका अध्यक्ष रामप्रसाद न्यौपानेले प्रहरी नायब महानिरिक्षक विश्वराज पोखरेलको प्रशंसा गर्दै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थापनमा ुउहाले खेल्नु भएको भूमिका गर्विलो रहेको छु भन्ने कुरा उल्लेख गर्नुका साथै समुदाय प्रहरी साझेदारीले स्थापनाकालको छोटो समय मै समाजमा हुने हरेक गतिविधि, अपराध नियन्त्रण, ट्राफिक तालिम, लगायतका कार्यहरुमा टुँडालदेवी सामुदायिक प्रहरी साझेदारीले सकृय भूमिका खेल्दै आएको तथा भावी दिनहरुमा पनि अझ सशक्त रुपमा अगाडी बढ्ने प्रतिवद्धता जाहेर गरे।
कार्यक्रममा महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख, प्रहरी नायब उपरिक्षक उमेश लम्सालले सामुदायिक प्रहरी साझेदारीको कार्यक्रम काम कर्तब्य लगायतका विषयमा चर्चा गरेका थिए ।कार्यक्रममा महानगरिय प्रहरी वृत्त, कमलपोखरीका प्रमुख प्रहरी नायव उपरिक्षक भरत बाबु विकले प्रहरी र नागरिक बीचको समन्वयबाट समाजमा शान्ति सुरक्षा र अमन चयन कायम गर्ने सवालमा टेवा मिल्दै आएको धारणा ब्यक्त गरेका थिए ।
सामुदायिक प्रहरी सेवा केन्द्र टुँडाल देवीका सचिव मिन प्रसाद पौडेलले त्यस वडामा र धुम्बाराही चप्पल कारखाना, चन्डोल विशाल नगर क्षेत्रमा अनियन्त्रित पार्किङ नियन्त्रण गर्नु पर्नेमा मादक पदार्थ सेवन चेक जाँच मात्र गरेको देखिँदै आएको बताए । रातिको समयमा अपराध नियन्त्रण गर्न गएका प्रहरीले साईरन बजाउँदा स्थानीय वृद्ध र बच्चाहरुको निन्द्रा खल्बलिने गरेको र अपराधीहरु पनि साईरनको आवाजले फरार हुने गरेको कुरा अवगत गराउँदै त्यस क्षेत्रका ती समस्यालाई तत्काल समाधान गर्न अनुरोध गरे ।
FACEBOOK COMMENTS