काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकले कम्पनीमा जाने निर्णय गरेको छ।
कम्पनीमा जानका लागि महासंघले सर्त पनि अगाडि सारेको छ। शुक्रबार बसेको केन्द्रीय बैठकले कम्पनीमा जानका लागि संघ समितिहरुको चलअचल सम्पत्ति, दायित्व, कर्मचारी तथा सवारीसाधन रुपान्तरणमा सरकारले सहयोग गर्नु पर्ने माग अगाडि सारेको छ।महासंघको बैठक बिहिवारदेखि सुरु भएर शुक्रबार सम्पन्न भएको छ।
महासंघका महासचिव सरोज सिटौलाले आजै महासंघका प्रतिनिधीहरुले भौतिक पुर्वाधार तथा यातायात मन्त्रीलाई भेटेर जानकारी समेत गराई सकेको बताए। मन्त्री समेत यसमा सकारात्मक देखिएका छन्।
सिटौलाका अनुसार विद्यमान ऐन अनुसार ९९ जनाभन्दा बढि शेयर सदस्य कम्पनीमा राख्न मिल्दैन। त्यसैले यसलाई जतिसुकै राख्न मिल्ने गरि ऐन संशोधन गर्न माग गरिएको उनले बताए।
त्यस्तै संघ समितिको चलअचल सम्पत्ति कम्पनीमा पनि लैजान पाउनुपर्ने, हालका कर्मचारीलाई नै कम्पनीमा लग्नुका साथै सबै सवारीसाधन कम्पनीमा स्वत रुपान्तरण गर्नका लागि सरकारले सहजीकरण गर्नु पर्ने माग महासंघको छ।
