काठमाडौं, जेठ १३ – पछिल्लो समय उत्पादन भएका स्मार्टफोन र ल्यापटपमा प्रयोग भइरहेका युएसबी टाइप-सी चार्जरको डेलिभर पावर २४० वाटमा स्तरोन्नति हुने भएको छ। अहिले कायम भएका युएसबी टाइप-सी अधिकतम एक सय वाटसम्मको क्षमताका छन्।
युएसबीको विस्तार तथा सहयोगमा स्थापित उद्योग द युएसबी इम्प्लिमेन्टर्स फोरम (युएसबी-आइएफ) ले पछिल्लो समय युएसबी टाइप सीको स्पेसिफिकेसनसम्बन्धी भर्सन २.१ सार्वजनिक गरेको छ।
सन् २०१९ मा सार्वजनिक भएको युएसबी टाइप सी २.० भर्सनका धेरै पक्षलाई नयाँ भर्सनमा पनि समेटिएको छ। तर, सार्वजनिक गरिएको नयाँ भर्सनमा भने एक्सटेन्डेड पावर रेन्ज (इपीआर) को विकल्प थपिएको छ। जसमा ४८ भोल्टसम्मको अधिकतम भोल्टेज रहने छ। जसले पाँच एम्पियरबाट २४० वाट पावर डेलिभर गर्ने बताइएको छ।
२४० वाट क्षमता बहन गर्ने पछिल्लो युएसबी अपडेटले ल्यापटप उत्पादकहरुलाई परम्परागत ज्याकको साटो आधुनिक युएसबी टाइप-सीबाट चार्जसँगै अन्य डिभाइसहरुमा डेटा ट्रान्सफर गर्न सक्ने बताइएको छ।
युएसबी-आइएफका अनुसार टाइप-सी २.० र २.१ को इन्टरफेस भागमा उपभोक्ताहरुलाई प्रयोगमा कुनै भिन्नता वा समस्या नपर्ने जनाएको छ। प्रयोगकर्ताहरुले कुनै पनि युएसबी टाइप-सी २.१ डिभाइसमा टाइप-सी २.० पनि जोड्न सकिने जनाएको छ।
अहिले बजार भित्रिएका अधिकांश ल्यापटपहरु १०० वाटको टाइप-सी चार्जरबाट चल्ने गरे पनि गेमिङ तथा पावरफुल ल्यापटप र डेक्सटपलाई थप आउटपुट आवश्यक पर्ने बताइएको छ। यस प्रकारका ल्यापटप र डेक्सटपलाई युएसबीमा आएको रुपान्तरणले थप सहज बनाउने बुझिएको छ।
FACEBOOK COMMENTS