काठमाडौं, कात्तिक २१ – युद्ध अपराधको अभियोग लागेका कोशोभोका राष्ट्रपति हसिम थासीले पदबाट राजीनामा दिएका छन्। सर्बियाबाट कोशोभोलाई स्वतन्त्र बनाउन भएको युद्धमा ‘कोशोभो लिबरेसन आर्मी’ का कमाण्डर रहेका राष्ट्रपति थासी र उनका साथीहरूलाई कम्तीमा पनि १०० जना व्यक्तिको हत्याका लागि जिम्मेवार रहेको आरोपमा नेदरल्याण्ड्सको हेगस्थित ‘कोसोभो स्पेशलिष्ट च्याम्बर एण्ड स्पेशलिष्ट प्रोसिक्यूटर्स अफिस’ मा अभियोजन गरिएको थियो।
राष्ट्रपति हसिम थासीसहित १० जनाविरुद्ध १० असार २०७७ मा युद्ध–अपराधमा अभियोजन गरियो। उनीहरूमाथि सन् १९९८/९९ मा भएको युद्धमा मानवता विरुद्धको अपराध, युद्ध–अपराध, बलपूर्वक व्यक्ति बेपत्ता पारेको र नियन्त्रणमा लिएर यातना दिएको अभियोग समेत लगाइएको छ।
सन् १९९९ मा नाटोको सहयोगमा ‘कोशोभो लिबरेसन आर्मी’ले सर्बियाबाट कोशोभोलाई स्वतन्त्र बनाउने अभियानमा सफलता पाएको थियो। गत असारमा थासी र सर्वियाका राष्ट्रपतिसँग अमेरिकाको ह्वाइटहाउसमा निर्धारित वार्ताको एक दिनअघि उनीविरुद्ध अभियोजन गरिएको थियो।
गुरिल्ला फोर्सको वरिष्ठ नेताको रूपमा थासीले आफ्नो समूहले गरेको हत्या, यातना र अन्य अपराधबारे थाहा पाएर पनि रोक्नका लागि कुनै भूमिका नखेलेको अभियोग लगाइएको छ। हेगस्थित अदालतले थासी र उनका अन्य साथीहरूले कोशोभो लिबरेसन आर्मीका विपक्षी हुन् भन्ने ठानिएका व्यक्तिहरूलाई छानिछानी आक्रमण गरेको जनाएको छ।
FACEBOOK COMMENTS