काठमाडौं, कात्तिक २० – युनाइटेड इदी-मार्दी एन आरबी हाइड्रोपावरले कात्तिक २७ गतेबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा ८ लाख ७३ हजार ९१० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजीको २५ प्रतिशत आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। जसमध्ये बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्तासहित कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री गर्न लागेको हो ।
निष्कासन गरिने कुल सेयरमध्ये ४३ हजार ६९६ कित्ता सामूहिक लगानी कोषहरु र १७ हजार ४७८ कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी रहेको आठ लाख १२ हजार ७३६ कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्कासन गर्न लागेको आईपीओमा सर्वसाधारणले छिटोमा मंसिर ३ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त अवधिमा सबै पर्याप्त आवेदन नपरे ढिलोमा मंसिर ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ। आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
FACEBOOK COMMENTS