काठमाडौं, माघ १७- युरोपियन युनियनले अस्ट्राजेनेकाले विकास गरेको कोरोना भ्याक्सिनलाई आधिकारिकता प्रदान गरेको छ । युनियनले १८ वर्षभन्दा माथिका व्यक्तिलाई लगाउनका लागि खोपलाई आधिकारिकता प्रदान गरेको हो ।
युरोपियन मेडिसिन एजेन्सी (इएमए)ले १८ वर्षभन्दा माथि उमेरका व्यक्तिको प्रयोगका लागि शुक्रबार अस्ट्राजेनेकाको भ्याक्सिनलाई लाइसेन्स दिएको हो । जर्मनी भ्याक्सिन कमिटीको सिफारिसमा इएमएले लाइसेन्स दिएको अलजजिराले लेखेको छ ।
युनियनभित्रका देशहरुमा अब १८ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिका लागि उक्त भ्याक्सिन प्रयोगमा ल्याउन पाउने भएको छ । ६४ वर्षमाथिका व्यक्तिमा भ्याक्सिनको प्रभावकारिताका विषयमा प्रष्ट तथ्यहरु आइनसकेको बताइएको छ ।
इएमएले लाइसेन्स प्रदान गरेको यो तेस्रो भ्याक्सिन हो । यसअघि, फाइजर र मोडेर्नाको भ्याक्सिनले पनि सबै वयस्कहरुमा प्रयोगको लागि आधिकारिकता पाइसकेका छन्।
अब यी भ्याक्सिनहरुले युरोपको बजारका लागि अझै एक चरण पार गर्नुपर्नेछ । जसका लागि उनीहरुलाई युरोपियन युनियनको स्वीकृति पाउनुपर्ने हुन्छ । अहिले सबै भ्याक्सिन एकसाथ युनियनको स्वीकृतिको प्रक्रियामा रहेका छन् ।
FACEBOOK COMMENTS