काठमाडौं, माघ १५ – चर्चित उद्योगी एवं नेपाली कांग्रेसका पूर्वसांसद विनोद चौधरीले पछिल्लो समय युवाहरुमा नैराश्य बढेकाले उनीहरुलाई उद्यमशील बनाउनुपर्ने बताएका छन् ।
हेटौँडामा कर्मभूमि समाजले गरेको ‘नेपाली कांग्रेस लगानी पूर्वाधार र रोजगार’ विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता चौधरीले देशमा राजनीतिक भाषण गर्नेभन्दा गरिखानेको बाहुल्य आवश्यक रहेको भन्दै यसका लागि नेपाली कांग्रेसले ‘गरिखाने अभियान’ सञ्चालन गरिरहेको बताए । अर्बपति चौधरीले नेपाली कांग्रेस गरिखानेको बाहुल्य भएको वातावरण सिर्जना गर्न अघि बढेको बताए ।
कार्यक्रममा कांग्रेसका पूर्वसांसद उमेश श्रेष्ठ, कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलगायतले अब जनतालाई उद्यमशीलतातर्फ अग्रसर गराई आत्मनिर्भर बनाउने योजनाका साथ कांग्रेस अघि बढ्ने बताएका थिए ।
गरिखाने अभियानका प्रमुख कार्यकारी अधिकृत राजु नेपालले सहजीकरण गरेको कार्यक्रममा मकवानपुरका विभिन्न क्षेत्रमा उद्यम गर्नका लागि संस्था दर्ता गरेका युवाको सहभागिता थियो ।