काठमाडौं, माघ ११- यस वर्ष पानी पार्ने प्रणाली पटकपटक भित्रिरहेकाले जाडो लम्बिने सम्भावना देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो घाम लागेपनि बिहान र बेलुकी पख चिसो छ ।
यसपटक ३/४ वर्षयताकै ठूलो हिउँदे वर्षा भएको महाशाखाले जनाएको छ। घाम लागेर जमिन तात्तिन लाग्दै गर्दा फेरि अर्को प्रणाली भित्रिएर पानी पर्ने, हिमपात हुने महाशाखाले जनाएको छ। अहिलेसम्मको स्थिति हेर्दा यस्तो देखिए पनि मौसम सफा हुँदै गयो र दिनभर घाम लाग्न थाल्यो भने परिस्थिति फरक पनि हुन सक्ने महाशाखाको भनाइ छ।
अब बिस्तारै जाडो घट्ने र गर्मी सुरु हुनुपर्ने हो । तर छिछिनमा बादल आउने, घाम लाग्न नपाउने भइरह्यो भने चाहिँ चिसो घट्न पाउँदैन र जाडो लम्बिने महाशाखाले जनाएको छ।
यस्तै हिमालबाट बहेको हावा र न्यूनतम तापक्रम बढे पनि अधिकतम तापक्रम घट्दा चिसो भएको महाशाखाले जनाएको छ। बिहीबारको भन्दा शुक्रबार झण्डै तीन डिग्री घटेर काठमाडौंको अधिकतम तापक्रम १५ दशमलव ७ डिग्री सेल्सियसमा झरेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
FACEBOOK COMMENTS