काठमाडौं, २६ मंसिर – सार्वजनिक स्थानमा हुने यौनजन्य दुर्व्यवहारविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँले अभियान शुभारम्भ गरेको छ । विश्व मानवअधिकार दिवस एवं लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनको अवसरमा तनहुँ प्रहरीले बिहीबार एक कार्यक्रमको आयोजना गरी यौनजन्य हिंसा र दुर्व्यवहारविरुद्ध ‘सेफ्टी पिन’ अभियान शुभारम्भ गरेको हो ।
सार्वजनिक स्थानमा हुने भेला, सभा तथा अन्य कार्यक्रम एवं होटल र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुर्व्यवहार गर्नेलाई कारबाही गर्न त्यस्ता स्थानमा सादा प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । “अभियुक्तलाई तत्कालै पक्राउ गरी कारबाही थाल्न तथा पीडितलाई न्यायका लागि एवं सार्वजनिक स्थानमा हुने दुर्व्यवहारका घटनालाई न्यूनीकरण गर्न अभियान प्रभावकारी हुनेछ”, उनले भने ।
अभियानको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख पवित्रा पौडेलले सार्वजनिक स्थानमा महिलामाथि यौनजन्य र अन्य खाले हिंसा हुने भएकाले त्यस्ता हिंसा र दुर्व्यवहारको अन्त्य गर्न प्रहरीको अभियान सफल हुने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष प्रकाशचन्द्र भट्टराई, व्यासभूमि यातायात व्यवसायी संघका अध्यक्ष राजकुमार श्रेष्ठ, क्षेत्रीय होटल संघ तनहुँका वरिष्ठ उपाध्यक्ष विकास खनाल, महिला सशक्तीकरण सञ्चार समाज तनहुँका अध्यक्ष प्रकृति खनाललगायतले सार्वजनिक स्थानमा हुने यौनजन्य हिंसा र दुर्व्यवहार अन्त्य गर्न सबैले प्रहरीलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले सार्वजनिक स्थानमा हुने यौनजन्य दुर्व्यवहारको घटनाको सूचना सङ्कलन, सचेतना र कारबाहीका लागि अभियान सञ्चालन हुने जानकारी दिए ।
FACEBOOK COMMENTS