प्रताप भट्ट/ लमजुङ, ०४ बैशाख – राईनाश ०५ का युवाहरु वडाको सुरक्षामा जुटेका छन् । कोभिड १९ को संक्रमण रोकथामका निम्ती नेपाल सरकारले लागु गरेको लकडाउनको उल्लंघन हुन थाले पछि राईनाश ०५ का युवाहरु वडाको सुरक्षामा खटिन थालेका छन् । उनीहरुले आफ्नै गाउँ टोलसम्म पुगी कोभिड १९ को जोखिम, यसबाट बच्न अपनाउनुपर्ने सुरक्षा सतर्कता र सावधानी जस्ता बिषयमा जानकारी दिलाउनुका साथै बाहिरबाट भित्रने नवआगन्तुकहरु उपर पनि निगरानी बढाउन थालेका छन् । मानिसहरु लुकिछिपी गर्दै हिंडन थालेपछि युवाहरुले आवतजावत गर्ने स्थानलाई शिल गरेका छन् । रोजगारीका लागी बाहिर गएका मानिसहरु विभिन्न जिल्लाबाट गाउँ फर्कन थाले पछि गाउँ घरमा समेत त्रास बढेको भन्दै वडा कार्यालयले युवा परिचालनको निती लिएको हो ।
मुल सडक खण्डमा प्रहरीले नियमित जसो पहरा दिई रहेको अवस्थामा मुल सडक खण्डलाई छल्दै सहायक बाटो समात्दै हिंडन थाले पछि वडा कार्यालय र प्रहरी समेतको सहयोगमा युवाहरु परिचालन गरिएको राईनास नगरपालिका वडा नम्बर ०५ का वडा अध्यक्ष नन्द बहादुर कुमालले बताए । अभियन्ता मध्येका एक दिनेश पाण्डे भन्छन ‘अनावश्यक रुपमा अोहरदोहर गर्ने क्रम नरोकिएपछि यसबाट निम्तन सक्ने खतरालाई रोक्न हामीले बाटो नै शिल गरेका छौ, परिस्थिती हेरेर मात्रै खोल्ने गर्छौ ।’ त्यसो त अटेर गर्नेहरुलाई उनीहरुले प्रहरीको जिम्मा लगाउने गरेका छन् । ‘यस्तो बेलामा हुलका हुल मान्छे आएका छन, कतै रोगब्याधी त ल्याएका छैनन भनेर तर्सनुपर्ने अवस्था छ, तर हाम्रो कामबाट अरुलाई अनावश्यक दु:ख पनि नहोस् भनेर समस्या देखिए प्रहरी र वडा कार्यालयसँग आवश्यक समन्वय गर्ने गरेका छौ’ हरिराम अधिकारीले स्पस्ट पार्दै भने । राईनास स्थित तीनपिप्लेका युवाहरुले पदमार्गमा नियमित पालैपाले पहरा दिदै निगरानी गर्दै आएका छन् ।
अभियन्ता अधिकारी भन्छन् ‘हामीले गाउँघरमा सामाजिक दुरीको महत्व बुझाउने देखी अन्यत्रबाट आएकाहरुलाई टाढैबाट केरकार गर्दै जटिल परिस्थितीमा रहेका बाहेकलाई यस गाउँ हुँदै हिंडडुल गर्नेहरुलाई रोक्ने प्रयास गरेका छौ, यसो गर्नुको मुल कारण नै हेलचक्राई नहोस् भन्ने हो ।’ युवाहरुबाट अभियानलाई लिएर तीनपिप्लेवासीहरुले मिश्रित प्रतिकृया जनाएका छन् । कसैकसैले यस कामलाई निकै उत्तम कार्य भन्दै प्रशंशा गरेका छन् भने केहीले मानिसहरुको आवतजावतलाई रोक्ने प्रयास गर्नु उचित नभएको प्रतिकृया जनाएका छन् । बटुवाहरुले भने अवरोध गर्नु उचित नभएको बताएका छन् ।
यसरी अवरोधको सामना गर्नेमा शहर क्षेत्रबाट गाउँ फर्कदै गर्ने देखी भेटघाट, स्वास्थ्य चेकजाच ,खाद्यान्नको जोहो गर्ने मानिस लगायतका छन् । कुनै ब्यक्ती माथि संक्रमणको शंका लागेमा प्रहरी वा वडा प्रतिनिधीहरुलाई खबर गर्ने गरिएको अभियानकर्ताहरुले बताएका छन् । र उनीहरुको यस अभियानलाई वडा अध्यक्षले समेत सहयोग पुर्याईरहेको छन् । यसरी अभियन्ताहरु गाउँको सुरक्षार्थ खटिदै गर्दा उनीहरुसँग समेत आवश्यक सुरक्षा कवचको अभाव छ ।
यद्यपी उनीहरु स्वय पनि जोखिम मोल्दै आफ्नो बस्ती क्षेत्रमा लकडाउन सफल पार्न लागि परेका देखिन्छन् । राईनास क्षेत्र पुर्वी लमजुङको प्रवेश द्वार पनि मानिन्छ । तथापी यहाँ सरकारले अझसम्म पनि क्वारेनन्टाईनको ब्यवस्था गर्न सकेको छैन । ‘भारतबाट समेत मानिसहरु फर्कि रहेका छन् भन्ने हल्ला चलेपछि जनगुनासोको सुनुवाई गर्दै हामीले निगरानी बढाएका हौ, युवा साथीहरुलाई सामाजिक दुरी कायम राख्दै सुरक्षित रहन सुझाएका छौ’ वडाध्यक्ष कुमालले बताए ।
FACEBOOK COMMENTS