काठमाडौं, पुस १७ – राजस्व अनुसन्धान विभागले शुक्रवार झुटा तथा नक्कली भ्याट बिल प्रयोग गरि राजस्व छलि गर्ने २८ जनाविरुद्ध रू. एक अर्ब ३२ करोड बिगो मागदाबी गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
आयोगले मोहन ट्रेड इन्टरनेशनलका राम किशोर प्रसाद सहित विभिन्न २६ ओटा फर्मका २८ जना सञ्चालकविरुद्ध मुद्दा दायर गरेको हो । राम किशोर प्रसाद लगायतले कमजोर आर्थिक अवस्था भएका मजदूर लगायतका व्यक्तिको नाममा दर्ता गरि उक्त सबै फर्मको बैंक खाता सञ्चालन गरी विभिन्न फर्महरुको नाममा झुटा तथा नक्कली विक्री बीजक जारी गरी कर छलि गरेको आयोगको दाबी छ ।
ती फर्महरुबाट आर्थिक वर्ष ०७१/०७२ देखि ०७४/७५ सम्म भ्याट तथा आयकर राजस्व चुहावट गरेको आयोगले जानकारी दिएको छ । उनीहरु विरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार रू. ४३ करोड ८१ लाख ८० हजार ३७८ भ्याट, रू. ८६ करोड ५६ लाख १ हजार ७८५ आयकर र रू. २ करोड ८ लाख ३० हजार ४०२ लाभांश कर गरी कुल एक रू. अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ राजस्व चुहावट गरेको ठहर छ ।
आयोगले उक्त फर्महरुको मुख्य कारोबारी राम किशोर प्रसाद समेत उक्त विभिन्न फर्मका प्रोप्राईटर २८ जनालाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार रू. एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ असुल उपर गरि जरिवाना र कैद सजाय मागदाबी लिई उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरेको विभागले जानकारी दिएको छ ।