काठमाडौं, भदौ ४ – रामेछापमा आजदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा घोषणा भएको छ। कोरोना महामारीको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले निषेधाज्ञा घोषणा गरेको हो।
जिल्लामा कोरोनाको रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन बिहीबार राति १२:०० बजेदेखि रामेछाप जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले जानकारी दिइन्।

उनले आदेशको उलंघन गर्ने र पालना गर्नरगराउन अवरोध गर्नेहरु उपर प्रचलित कानून बमोजिम कार्वाही हुने बताइन्।
शर्माका अनुसार जिल्लाको प्रवेश नाका सेलेघाट, खैरेनीघाट, लुभुघाट, नवलपुरघाट, खिम्ति, धारापानी, साँघुटारलगायत प्रवेश नाकाहरुबाट बेलुका ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म पैदल आवातजावत गर्नसमेत रोक लगाइएको छ।