काठमाडौं, कार्तिक ५– राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्मित ऐतिहासिक रानीपोखरीको आज उद्घाटन गर्ने भएकी छिन् । वि. सं. २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्न भएकाले आज दिउँसो उद्घाटन गर्न लागिएको सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले बताए ।
२०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले नै रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् ।
यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ । १८९० को भूकम्पले मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो ।
शिलान्यास भएको करिब पाँच वर्षपछि रानीपोखरी पुनर्निर्माणको काम पूरा भएको हो ।
FACEBOOK COMMENTS