काठमाडौं, माघ २८ – प्रतिनिधिसभा विघटनयता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल र केपी ओली समूहको शक्ति प्रदर्शन शृंखला चलिरहेको छ । यसै क्रममा आज प्रचण्ड-नेपाल समूहले राजधानीमा शक्ति प्रदर्शन गर्यो ।
राजधानीको विभिन्न पाँच स्थानबाट निस्किएको जुलुस प्रदर्शनीमार्गअघि मूल सडकमै कोणसभामा परिणत भयो । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित १४ नेताले सम्बोधन गरे । अधिकांश नेता प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिए । त्यस्तै नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, निर्वाचन आयोग र सर्वोच्च अदालतलमाथि पनि खबरदारी गरे ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले निर्वाचन आयोगप्रति शंका गर्दै खुट्टी नकमाउन आग्रह गरे । “निर्वाचन आयोगले लक्षणचाहिँ गतिलो देखाएको छैन है ! ७० प्रतिशतले १० दिनमा नै गएर आधिकारिक भन्दा नदेख्ने केपी ओलीले धम्क्याउनेबितिक्कै हिसाब गर्नु भो भने तपाईंको खुट्टी पनि देखिन्छ,” उनले थपे, “निर्वाचन आयोग खुट्टा नकमाऊ । काइते कुराको पछि नलाग ।”
उनले आयोग र सर्वोच्च अदालतले लोकतन्त्र, गणतन्त्रको पक्षमा निर्णय नभए आँधी-हुरी आउने चेतावनी पनि दिए । कार्यक्रममा अर्का अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगको काममा हस्ताक्षेप नगर्न खबरदारी गरे ।
“ओलीले आयोगले अगाडि बढाइसकेको काममा हस्तक्षेप गर्न थालेका छन् । खबरदार ! स्वतन्त्र निकाय निर्वाचन आयोगको काममा केपी ओली प्रधानमन्त्रीले कुनै हस्तक्षेप गर्न पाउदैनन् । निर्वाचन आयोगले नियमावलीमा परिवर्तन गरेर पठाइसकेको छ । नछाप्नू भनी निर्देशन दिइएको छ,” उनले भने, “तुरुन्त आदेश र फर्मान फिर्ता लिऊन् र निर्वाचन आयोगको निर्णयको सम्मान गरुन् । होइन भने यो देशमा कसैले पनि कानुनको पालना गर्ने छैनन् । कसैले पनि निर्वाचन आयोगको सम्मान गर्ने छैनन् । यो कुराको हेक्का होस् सबैलाई ।”
त्यस्तै वरिष्ठ नेता झलनाथ खनालले आयोगका आयुक्तहरुलाई कुन पार्टी आधिकारिक हो भन्ने हेर्न प्रदर्शनीमार्गमा आउन भने । “निर्वाचन आयोगमा आयुक्तहरुलाई बडा सकस परेको छ । कु्नचाहिँ पार्टी आधिकारिक हो भनेर निर्क्योल गर्न । तर, सम्मानित आयुक्तहरु तपाईंहरुले अलमलिनुपर्ने छैन । आधिकारिक पार्टी भनेको कहाँ छ आउनुस् प्रदर्शनीमार्गको वरिपरि पार्टी पोखिएको छ । योभन्दा अर्को आधिकारिक नेकपा नेपालमा हुन सक्दैन,” खनालले दाबी गरे । उनले नियम, कानुन मिलाएर छिटै आधिकारिकता घोषणा गर्न आयोगलाई आग्रह गरे । छिटो निर्णय नगर्दा अफ्ठ्यारो आउन सक्ने उनको भनाइ थियो ।
संसद् विघटनविरुद्धको सभामा केन्द्रीय सदस्यद्वय रामकुमारी झाँक्री र अञ्जना विशंखेले राष्ट्रपति भण्डारीको भूमिकामाथि प्रश्न उठाए । नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीले पदको गरिमा बिर्सिएर प्रधानमन्त्रीको प्यादा बनेको आरोप लगाइन् । झाँक्रीले प्रधानमन्त्रीको एसिस्टेन्ट भएर जस्तोसुकै कुरामा छाप लगाउने गरेको भन्दै आक्रोश पोखिन् ।
“एउटा अहंकारी, सन्की प्रधानमन्त्रीको प्यादा बन्ने राष्ट्रपतिका विरुद्ध बोल्न पाइन्छ । यसमा महिला अस्मिताको प्रश्न उठ्दैन,” झाँक्रीले आक्रोशित हुँदै भनिन्, “राष्ट्रपति सार्वजनिक पद हो । सार्वजनिक पदका विषयमा गरिने टिप्पणीमा महिला अस्मिताको गन्ध आउँदैन । त्यसकारण बोल्न पाइन्छ ।”
त्यस्तै विशंखेले राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता बनेको आरोप लगाउँदै समग्र महिलाको शिर निहुरिएको दाबीसमेत गरिन् । राष्ट्रपति भण्डारी संविधानको सुरक्षा र संरक्षण गर्न असफल भएको उनको जिकिर थियो । “तपाईं फेल हुनुभयो, तपाईंलाई जनताले अब राष्ट्रपतिमा जानका निम्ति अधिकार दिने छैनन्,” उनले भनिन् ।
यसअघि जस्तै कार्यक्रममा ओलीमाथि गालीका वर्षा भए । नेताहरुले ओलीलाई तानाशाही शासक हिटलर, सद्दाम हुसेन, कागजको बादशाह लगायतसँग तुलना गरे । कार्यक्रममा अध्यक्ष प्रचण्डले ओलीलाई राजीनामा दिन सुझावसमेत दिए । उनले ओलीलाई ठग, सन्की प्रधानमन्त्रीको संज्ञा दिए । कार्यक्रममा अध्यक्ष नेपालले ओली नेकपाको अध्यक्ष बन्न नपाउने जिकिर गर्दै ओली समूह वा फाउन्डेसनको अध्यक्ष बन्नुस् भन्दै व्यंग्य गरे ।
FACEBOOK COMMENTS