काठमाडौं,चैत २१- राष्ट्रिय उपभोक्ता मञ्चले स्थानिय निकायबाट वितरण भएको राहतमा धांधली भएको भन्दैं छानविन गरी कारवाही गर्न माग गरेको छ । मञ्चले आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई पत्र लेखि यसबारेमा ध्यानआकर्षण गराएको हो ।
मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सरकारलाई ध्यानआकर्षणका लागि लेखेको पत्रमा भनिएको छ- ‘कोरोना भाइरसको कारण संघीय सरकारको तर्फबाट प्राप्त राहत सामाग्रीहरु स्थानीय तहको वडास्तरबाट बितरण गर्ने क्रममा ठूलो आर्थिक चलखेल हुनुको साथै कमसलखालको चामल, तेल, मिठो र दालहरु प्याकिंग गरी दिने, राहत लिन आउदा उपभोक्तासंग घरबहाल तिरेको रसिद, भाडामा बसेको प्रमाण लगायत अन्य कागजात मागी बिपदमा परेका नागरिकलाई हतोत्साहित गर्ने गरेको र सकेसम्म आफनै मान्छेलाई मात्र राहत बितरण गर्ने, सिमित मात्रामा राहत सामाग्री बितरण गरी सकिएको भनि ढांटने गरेको भन्ने गुनासो आउन थालेको व्यहोरा श्रीमानमा अवगत गराउन चाहन्छौं ।’
पत्रमा यस्तो गुनासो बिशेष गरी काठमाडौं उपत्यकाको २ महानगरका, पोखरा महानगर, धरान र इटहरी उपमहानगरका वडाहरुबाट आउन थालेको जनाइएको छ ।
पत्रमा भनिएको छ – ‘अत्यन्त जटिल मानवीय समस्याको रुपमा देखिएको यो समयमा वडाका जनप्रतिनिधीहरु आफैले आफना वडाबासीको लागी सक्दो सहयोग र योगदान गर्नु पर्ने बेलामा अनावश्यक रुपमा कागजात वा प्रमाण खोजी रहनु भनेको विशुद्ध रुपमा आर्थिक चलखेल गर्र्नकै लागी हो भन्ने आम नागरिकको भनाइ रहेका ेछ । त्यसैले यस बिषयमा आवश्यक छानविन गरी दोषी माथि कारवाही गरी पाउन र सहज र शुलभ रुपमा प्रत्येक नेपाली नागरिकले राज्यबाट प्राप्त हुने राहत सामाग्री उपलव्ध गराउने व्यवस्था गरी पाउन अनुरोध गर्दछौं ।’
FACEBOOK COMMENTS