काठमाडौं, जेठ १७ – सरकारकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको ‘८.५% आरबीबीएल डिवेञ्चर २०८३’ मा यही जेठ २५ गतेदेखि आवेदन खुला हुने भएको छ । प्रतिकित्ता रू. १ हजार दरका ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन पाइने छ ।
६ वर्ष अवधि भएको यो ऋणपत्रमा बैंकले वार्षिक ८.५० प्रतिशत ब्याज दिने भएको छ । कुल २ अर्ब ५० करोड रूपैयाँ मूल्य बराबरको २५ लाख कित्ता ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने छ । कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरूलाई बिक्री गरिने बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।
ऋणपत्र विक्रीका लागि बैंकले निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । साथै, सर्वसाधारणका लागि छुट्याइएको ४० प्रतिशत अर्थात् १० लाख कित्ता सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिने बताइएको छ । यो ऋणपत्रमा छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म आवेदन दिन सकिने छ ।
ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरू, सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयहरूमार्फत आवेदन दिन सकिने छ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
बैंकको यो ऋणपत्रलाई केयर रेटिङ्ग नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा पर्याप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाको रूपमा रहेको सङ्केत गर्ने ‘केयर–एनपी ए प्लस (आईएस)’ रेटिङ्ग प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको विवरणपत्र बैंकको वेबसाइटमा समेत राखिएको छ ।
FACEBOOK COMMENTS