काठमाण्डौं– पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले नाफामा सबै बैंकलाई उछिनेको छ। हाल सम्म आफ्नो विवरण सार्वजानिक गर्नेमा नविल बैंक दोस्रो स्थानमा छ ।
चालु आवको पहिलो ६ महिनामा राष्ट्रिय वाणिज्यले २ अर्ब ४० करोड कमाएको छ। रेगुलेटरी एड्जस्ट्मेन्ट गर्दा २३ करोड छुट्याउनुपर्ने राष्ट्रिय वाणिज्यको वितरणयोग्य नाफा भने २ अर्ब १७ करोड छ।
बैंकले व्याजवापत मात्रै ४ अर्ब ९५ करोड आम्दानी गरेको छ। पुस मसान्तसम्म कुल १ खर्ब ८१ अर्ब निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३४ अर्ब कर्जा प्रवाह गरेको छ।
एक वर्षको अवधिमा बैंकको निक्षेप ३२ अर्बले र कर्जा २४ अर्बले बढेको छ। सरकारले स्थानीय तहको खातामा रहेको रकम बैंकहरुलाई ५० प्रतिशत निक्षेपका रुपमा दिँदा राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै १७ अर्ब प्राप्त गर्यो। जसले गर्दा बैंकको निक्षेपमा उल्लेख्य वृद्धि भएको हो।
निक्षेपमा मात्रै नभई कर्जा प्रवाहलाई पनि बैंकले जोड दिएको देखिन्छ। निक्षेपकै अनुपातमा कर्जा बढेपछि बैंकको सिसिडी रेसियो गत वर्षकै दर ६९ प्रतिशतमा छ।
८० प्रतिशतसम्मको सीमा रहेको सिसिडी रेसियो जम्मा ६९ हुनुले थप ऋण लगानीका लागि बैंक अरुभन्दा सहज अवस्थामा देखिन्छ।
९ अर्ब चुक्ता पुँजी भएको बैंकको जगेडा कोष १२ अर्ब ४४ करोडको जगेडा कोष भएकाले भैपरी आउन सक्ने संभावित चुनौतिको सामानाका लागि बैंक बलियो देखिन्छ।
FACEBOOK COMMENTS