काठमाडौं, पुस २१ – राष्ट्रिय सभा सदस्यको ९ माघमा हुने १८ रिक्त पदका लागि ४५ जनाले उम्मेदवारको मनोनयन पत्र दर्ता गराएका छन् । आइतबार भएको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रममा सातै प्रदेशमा गरी विभिन्न दलका ४५ जनाले मनोनयन दर्ता गराएका हुन् ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राष्ट्रिय सभा सदस्यको १८ रिक्त पदका लागि ४५ जना उम्मेदवारको मनोनयन दर्ता भएको बताए । सातै प्रदेशमा उम्मेदवारको मनोनयपत्र दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनले जानकारी दिएका हुन् । उम्मेदवारी दर्ता गर्न दलका उम्मेदवार बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
उम्मेदवारी दर्ताका लागि आयोगले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेको थियो । आयोगका अनुसार आगामी २० फागुनमा राष्ट्रिय सभातर्फ सदस्य रहेका १८ जनाको पहिलो २ वर्षको कार्यकाल पूरा हुँदै छ । दुईवर्षे कार्यकाल पूरा गर्नेमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का ९, नेपाली कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ सदस्य छन् ।
निर्वाचनमार्फत महिला सात, दलित दुई, अल्पसंख्यक २ र अन्य समूहबाट ७ गरी १८ जना सदस्य चुनिनेछन् ।
उम्मेदवारहरूले प्रदेश १ को मोरङ, २ को धनुषा, ३ को ललितपुर, गण्डकी प्रदेशको कास्की, प्रदेश ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयबाट मनोनयन दर्ता गरेको आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिएका हुन् ।
नेकपा र राजपा तथा कांग्रेस र समाजवादीबीच सहकार्य
प्रदेश १ मा तीन दलका ९ उम्मेदवार
राष्ट्रिय सभा सदस्यका लागि प्रदेश १ मा रिक्त तीन उम्मेदवारका लागि तीन दलका ९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । सो प्रदेशमा रिक्त दलित १, महिला १ र अन्य १ गरी तीन सदस्यका लागि मतदान हुँदै छ । जसमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०, नेपाली कांग्रेस र संघीय समाजवादी नेपालका उम्मेदवारले उम्मेदवारी दिएका हुन् । नेकपाका तर्फबाट प्रदेश १ मा दलिततर्फ गोपी अछामी, महिलातर्फ इन्दिरादेवी गौतम र खुलातर्फ देवेन्द्र दाहालको उम्मेवारी परेको छ ।
कांग्रेसबाट महिला पदका लागि मिना पुलामी मगर, दलिततर्फ निरबहादुर विश्वकर्मा र खुलातर्फ राजेन्द्र घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् । महिलातर्फ संघीय समाजवादीबाट कमला बडहीले उम्मेदवारी दिएकी छन् । यस्तै, सोही पार्टीबाट दलिततर्फ ज्ञानकुमार परियार र खुलातर्फ भरतराज दाहालले उम्मेदवारी दर्ता गराएका छन्।
राष्ट्रिय सभा सदस्यका लागि तिनै दलका उम्मेदवार उम्मेदवारी दर्ता गराउन आफ्ना पार्टी कार्यालयबाट जुलुससहित विराटनगर सोमबारे हाटस्थित निर्वाचन कार्यालय पुगेका थिए ।
प्रदेश २ मा ८ उम्मेदवार
प्रदेश २ मा सत्तारूढ नेकपाले राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा०सँग र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गरेका छन् । राष्ट्रिय सभामा प्रदेश २ बाट प्रतिनिधित्व गर्ने ८ जनामध्ये ४ जनाको कार्यकाल सकिन लागेको हो । प्रदेश २ मा राष्ट्रिय सभाको महिला सदस्य १ दलित सदस्य १, अल्पसंख्यक १ र अन्य खुला सदस्य १ पदका लागि निर्वाचन हुनेछ ।
नेकपा र राजपाको गठबन्धनबाट अल्पसंख्यकबाट शेखरकुमार सिंहले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै, महिला सदस्यमा पदमा तुलसा दाहालले उम्मेदवारी दिएकी छन् ।
सो गठबन्धनबाट दलित सदस्य पदमा राधेश्याम पासवानले उम्मेदवारी दर्ता गरेका छन् । अन्य खुला सदस्यमा गठबन्धनबाट मृगेन्द्रद्रसिंह यादवको उम्मेदवारी परेको छ ।
उम्मेदवारी दिँदा नेकपा उम्मेदवारको प्रस्ताव राजपा र राजपा उम्मेदवारको प्रस्तावक नेकपाका प्रतिनिधि बसेका छन् ।
यसैगरी, कांग्रेस–समाजवादी गठबन्धनबाट अल्पसंख्यक पदमा कांग्रेसका भोला पन्जियारको उम्मेदवारी परेको छ । महिला सदस्य पदमा कांग्रेसकै नगिना यादवको उम्मेदवारी परेको छ ।
यस्तै, दलित सदस्य पदमा समाजवादी पार्टीका रामप्रित पासवानको उम्मेदवारी परेको छ । उनी यसअघि पनि यही पार्टीबाट राष्ट्रिय सभा सदस्य भइसकेका छन्् । खुला अन्य पदमा पनि समाजवादी पार्टीका उम्मेदवारले उम्मेदवारी दिएका छन् । सो पार्टीका अनिरुद्र यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रदेश ३ मा ६ उम्मेदवार
प्रदेश ३ मा महिला र अन्य समूहका एक—एक पदका लागि तीन—तीन जनाको उम्मेदवारी दर्ता भएको छ । जसअनुसार सत्तारूढ नेकपाबाट महिला पदमा गंगाकुमारी बेलबासेको उम्मेदवारी परेको छ । अन्यतर्फ रिक्त पदमा नेकपाबाट बेदुराम भुसालको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै, महिला पदमा कांग्रेसबाट छलीकुमारी शर्मा उपाध्यायको उम्मेदवारी परेको छ । सोही पदमा नेपाल मजदुर किसान पार्टीबाट गीताकुमारी काफ्लेले उम्मेदवारी दर्ता गरेकी छन् । यस्तै अन्य पदमा कांग्रेसबाट हरिशरण श्रेष्ठ र मजदुर किसान पार्टीबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन् ।
गण्डकी प्रदेशबाट ५ जनाको उम्मेदवारी
निर्वाचनका लागि गण्डकी प्रदेशबाट पाँच जनाले उम्मेदवारी दिएका छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले रिक्त हुने अन्य र महिलातर्फका लागि उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रिय जनमोर्चाले भने सो प्रदेशबाट अन्य पदका लागि मात्रै उम्मेदवारी दर्ता गराएको छ ।नेकपाले अन्यका लागि पार्टी प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाएको छ । यस्तै, महिला पदमा भगवती न्यौपानेले उम्मेदवारी दिएकी छन् ।
कांग्रेसबाट अन्य पदमा सूर्यप्रसाद रेग्मी र महिलातर्फ विमला गौचनले उम्मेदवारी दिएकी छन् । जनमोर्चाबाट कास्कीका शंकर बरालले अन्य पदमा उम्मेदवारी दिएका हुन् ।
प्रदेश ५ मा तीन पदमा ९ उम्मेदवार
राष्ट्रिय सभा सदस्यका लागि प्रदेश ५ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० र नेपाली कांग्रेस पार्टीबाट तीन तीन जना, समाजवादी पार्टीबाट दुईजना र राष्ट्रिय जनमोर्चा पार्टीबाट एकजना उमेदवारले मनोनयन दर्ता गराएका छन् ।
राष्ट्रिय सभा सदस्यका लागि प्रदेश ५ अन्तर्गत दाङमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरिएको हो । निर्वाचनका लागि नेकपाबाट अन्य कोटाबाट गोपालप्रसाद भट्टराई, महिलाबाट विमला घिमिरे र अल्पसंख्यक अपांगबाट जगप्रसाद शर्माले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट अन्य कोटाबाट बालकृष्ण पाण्डे, महिलाबाट गिरिजा न्यौपाने र मेराज हलवाइले मनोनयन दर्ता गराएका छन् ।
यस्तै, समाजवादी पार्टीका तर्फबाट अल्पसंख्यक तर्फ सुनिल सिंघल र अन्यबाट कृष्णप्रसाद यादवले उमेदवारी दर्ता गराएका छन्् । राष्ट्रिय जनमोर्चाका तर्फबाट कपिलवस्तुका शिब पौडेलले उम्मेदवारी दिएका छन् ।
कर्णाली प्रदेशमा २ पदमा निर्वाचन
राष्ट्रिय सभाको निर्वाचनको लागि कर्णाली प्रदेशमा दुई पदका लागि निर्वाचन हुँदै छ । कर्णालीमा दुई पदका लागि हुने निर्वाचनमा नेकपा र कांग्रेस दुई दलले नै उम्मेदवारी दिएका हुन् । कांग्रेसका तर्फबाट अन्यमा डिल्लीराज पाठक र महिलामा गणेशकुमारी बस्नेतले उम्मेदवारी दिएका छन् । यस्तै, नेकपाबाट मायाप्रसाद शर्मा र सुमित्रा बीसीले उम्मेदवारी दिएका छन् ।
सुदूरपश्चिम प्रदेशमा २ पदमा ४ उम्मेदवार
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि २ पदमा हुने निर्वाचनमा ४ जनाको उम्मेदवारी परेको छ । निर्वाचनका लागि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बाट २ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट २ जना गरी चार जनाको उम्मेदवारी परेको हो ।
जसअनुसार महिला कोटामा नेकपाबाट कैलालीका शारदा भट्ट र अछामका तारामान स्वाँरले अन्यतर्फ उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, कांग्रेसबाट महिलातर्फ कैलालीका तुलसी देवकोटा र बैतडीका प्रताप ठगुन्नाले अन्यतर्फ उम्मेदवारी दर्ता गराएका छन् ।आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS