काठमाण्डौ– बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा गरेको ऋण प्रवाह ५० प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले कृषिमा अनिवार्य गनुपर्ने लगानीको सीमा बढाएपछि ऋण बढेको हो ।
नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरूलाई कुल ऋण लगानीको १० प्रतिशत अनिवार्य कृषि क्षेत्रमा लगानी गर्न निर्देशन दिएको थियो ।
यसअघि बैंकहरूले कुल लगानीको २५ प्रतिशत उत्पादनशील र प्राथमिकताप्राप्त क्षेत्रमा गर्नुपर्ने र त्यसमध्ये १५ प्रतिशत हाइड्रो र कृषिमा गर्नुपर्ने व्यवस्था थियो ।
यो व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले कृषिमा मात्र १० प्रतिशत लगानी गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले निर्देशन दिएपछि एक वर्षको अवधिमा बैंकहरूको कृषि कर्जा ५० प्रतिशतले वृद्धि भएको हो ।
बैंकहरूले २०७४ असारसम्ममा कृषि क्षेत्रमा ९० अर्ब लगानी गरेकोमा २०७५ असारसम्ममा १ खर्ब ३५ अर्ब पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।
कृषिलगायत उत्पादनमूलक क्षेत्रमा अनिवार्य लगानी गनुपर्ने राष्ट्र बैंकको नीति छ । यसैगरी व्यावसायिक कृषिमा आकर्षण बढेसँगै कर्जाको माग पनि वृद्धि भएको हो ।
राष्ट्र बैंकले तोकेको मापदण्ड पु¥याउनका लागि बैंकहरूले कृषि कर्जा बढाउँदै लगेका छन् ।
FACEBOOK COMMENTS