काठमाडौँ, भदौ २९ – रुपन्देहीमा एक हप्ता निषेधाज्ञा थप भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले असोज ४ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।
यसअघि भदौ २८ गते रातिसम्म निषेधाज्ञा आदेश जारी गरिएको थियो । यसपटकको निषेधाज्ञामा निजी सवारी साधनहरु जोर–बिजोरका आधारमा सन्चालन हुन पाउने छन् । जोर दिन जोर नम्बरका र बिजोर दिन बिजोर नम्बरका गाडीहरु चलाउन पाइने छ ।
यस्तै होटेलहरुले टेक–अवे सेवा दिने गरी खोल्न पाउनेछन् । यसअघि जस्तै पसल–व्यवसायहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ । शैक्षिक संस्था लगायत अन्य शैक्षिक क्रियाकलाप हुने संस्थाहरु भने खोल्न निषेध गरिएको छ ।
बैंक तथा सहकारी संस्थाहरु र सरकारी कार्यालयहरु भीडभाड नगरी, स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी सञ्चालन हुन पाउने आदेशमा उल्लेख छ ।
यात्रुवाहक सार्वजनिक यातायातका साधन सञ्चालन गर्न भने प्रशासनले निषेध गरेको छ । व्यवसायीहरुले भने सरकारले अनुमति नदिए पनि असोज १ गतेबाट सञ्चालन गर्ने बताउंदै आएका छन् ।
FACEBOOK COMMENTS