काठमाडौँ, अशोज २९ – रुसले नयाँ कोभिड १९ भ्याक्सिनलाई प्रयोगको अनुमति दिएको छ । पूर्व सोभियत बायोकेमिकल रिसर्च ल्याब भिक्टोर स्टेट भिरोलोजी एन्ड बायोटेक्नोलोजी सेन्टरमा विकसित ‘इपि भ्याक कोरोना’ नामक भ्याक्सिनलाई स्वीकृति दिइएको घोषणा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेका हुन् ।
दुई महिनाअघिमात्रै स्पुतनिक पाँचौ नामक भ्याक्सिनले रुस सरकारबाट स्वीकृति पाएको थियो, परीक्षणकै क्रममा रहेको स्पुतनिक सार्वजनिक प्रयोगका लागि स्वीकृति पाउने विश्वको पहिलो कोरोना भ्याक्सिन हो । रुसी अधिकारीहरुले डिसेम्बरसम्म तेस्रो भ्याक्सिनले पनि स्वीकृति पाउनसक्ने बताएका छन् ।
रुसले भारत, ब्राजिल र मेक्सिकोजस्ता ठूलो जनसंख्या बसोबास गर्ने देशहरुसहित अन्य धेरै देशमा स्पुतनिक पाँचौ बिक्री गर्ने सम्झौता गरिसकेको छ, पश्चिमा विश्लेषकहरु आफ्नो सफ्ट पावर उपयोग गर्न लागि रुसले भ्याक्सिन प्रयोगको प्रयास गरिरहेको बताउँछन् ।
‘हामी आफ्ना विदेशी साझेदारहरुसँग सहकार्य निरन्तर गर्नेछौं र हाम्रो भ्याक्सिनलाई विदेशमा प्रबद्र्धन गर्नेछौं,’ पुटिनले भनेका छन् । उनले विदेशमा प्रयोग हुने भ्याक्सिन विदेशमै उत्पादन गरिनुपर्ने बताएका छन् । यसअघि रुसी अधिकारीहरुले स्वदेशको उत्पादन क्षमता आफ्नो स्थानीय जनसंख्याकै लागि प्रयोगमा ल्याउनुपर्ने बताएका थिए ।
विश्वमा कोरोनाबाट अति प्रभावित देशहरुमध्ये रुस चौथो स्थानमा पर्छ, यहाँ १३ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । बुधबार यहाँ १४ हजार २ सय ३१ जनामा कोरोना संक्रमण देखियो, जो महामारी सुरु भएयताकै उच्च हो । यहाँ कोरोनाका कारण २३ हजारले ज्यान गुमाइसकेका छन् ।
FACEBOOK COMMENTS