काठमाडौं, कात्तिक २४ – बसुन्धरामा मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्थाले २३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कोभिड १९ (कोरोना महामारी) का कारण सरकारले भौतिकरुपमा उपस्थित भई भेला सम्मेलन जस्ता कार्यक्रममा गर्न रोक लगाएसँगै रोयल बहुउद्देश्यीय सहकारीले विभागले जारी गरेको निर्देशि बमोजिम भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न गरेको हो ।
सभामा संस्थाका अध्यक्ष भानुभक्त ढकालले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिबेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७६/०७७ मा शेयर पूँजी ६ करोड ६४ लाख ५० हजार रुपैंयाँ रहेको र चालु वर्षको अन्त्य सम्ममा ७ करोड ६० लाख रुपैंयाँ पुर्याउने लक्ष्य संस्थाले लिएको ढकालले बताए ।
त्यसैगरी संस्थामा ९६ करोड ७४ लाख ६८ हजार ४ सय ७२ रुपैंयाँ निक्षेप रहेको र चालु आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्व २२ करोड १७ लाख ४६ हजार ७ सय ५१ रुपैंयाँ पुर्याउने लक्ष्य रहेको समेत उनले जानकारी गराए । त्यसैगरी संस्थाले ८५ करोड ९६ लाख ६० हजार ४ सय ९० रुपैंयाँ कर्जा लगानी गरेको र चालू वर्षको अन्त्यसम्ममा १ अर्ब २० करोड १२ लाख ७५ हजार २ सय ८९ रुपैंयाँ लगानी गर्ने लक्ष्य रहेको सहकारीले जनाएको छ ।
त्यसैगरी कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक सिताराम काफ्लेले आर्थिक वर्ष ०७७÷०७८ का लागि संस्थाको भावी कार्यक्रम र रणनीति प्रस्तुत गरेका थिए । उनले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र मकवानपुरमध्ये कुनै जिल्लामा बहुउद्देश्यीय कृषि परियोजना संचालन गर्न कम्तिमा एकसय रोपनी जग्गा खरीद गर्ने प्रक्रिया अगाडी बढाएको सभामा जानकारी गराए ।
प्रवन्ध निर्देशक काफ्लेले संस्थाको बूढानिलकण्ठ, फर्पिङ बजार, साँखु जितपुरफेदी (तीनपिप्ले) मा सेवाकेन्द्र स्थापना गरी कारोबार सञ्चालन गरिरहेको र चाँडै नै ललितपुर, भक्तपुर, थानकोट, जोरपाटी, बत्तिसपुतली र पुतलीसडकमा सेवा केन्द्र बिस्तार गर्न लागिएको जानकारी दिए ।
उनले २ वर्षभित्र प्रदेश १, २ र गण्डकी प्रदेशमा र ५ वर्षमा सातै प्रदेशमा सेवा केन्द्र विस्तार गर्ने जनाए । प्रवन्ध निर्देशक काफ्लेले बत्तीसपुतलीस्थित मणीपुर बचत तथा ऋण सहकारी संस्था र पुतली सडकस्थित अर्वन बचत तथा ऋण सहकारी संस्थासंग एकिकरण सम्झौता भइसकेको र अन्य संस्थाहरु पनि एकिकरण गरी वित्तिय सेवाका साथै कृषि उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरण गर्ने र पर्यटन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्ने जनाएका छन् । संस्थाले २०७० साल देखि लघुवित्त कार्यक्रम संचालन गर्दै आएको जनाए ।
यसै सभामार्फन उनले लघुवित्तमा ३७९ केन्द्र र ४३५० जना सदस्य आवद्ध रहेको बताउँदै संस्थाद्वारा एसएमएस बैंकिङ, ईन्टरनेट बैंकिङ, रोयल स्मार्ट एप, मोवाइल बैंकिङ तथा एटिएम सिस्टम र रेमिटेन्स सेवा समेत प्रदान गरिरहेको जानकारी दिए ।
FACEBOOK COMMENTS