काठमाडौं, असोज ७ – वसन्त ऋतुमा प्रभावित भएको हिमाल आरोहण अब क्रमशः अगाडि बढ्ने क्रममा छ । शरद ऋतुका लागि मंगलबारसम्म कुल दुई वटा टोलीले आरोहण अनुमति लिइसकेका छन् ।
६ जना नेपालीको एक टोलीले वरुत्से हिमाल आरोहण गर्न अनुमति लिएको छ । उता, बहराइनका १५ र बेलायतका ३ जनाले दुई टोली बनाएर मनास्लु हिमाल आरोहणको अनुमति लिएका छन् ।
यी दुई आरोहण अनुमतिबाट कुल १९ लाख २९ हजार रुपैयाँ संकलन भइसकेको पर्यटन विभागले जानकारी दिएको छ । यो सिजन सरकारले पर्वतारोहण तथा पदयात्रा खुला गर्ने निर्णय गरेको छ । सोहीकारण क्रमशः पर्यटकीय गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ ।
मनास्लु हिमाल आरोहणका लागि दुई टोलीबाट कुल १६ हजार २ सय अमेरिकी डलर संकलन भएको छ । बहराइनको टोलीमा त्यहाँका राजपरिवारका एक सदस्यसमेत सहभागी छन् । यो रोयल गार्डको टोली हो । टोली दुई महिना नेपालमा रहनेछ ।
FACEBOOK COMMENTS